दमौली, असोज १७
पोखरामा जारी नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवेशनमा तनहुँका २३ जनाले विभिन्न पदमा उम्मेदबारी दिएका छन् । अध्यक्षको दुबै प्यानलबाट पदाधिकारीमा अवसर नपाए पनि तनहुँका २३ जना प्रतिनिधिहरुले सदस्य तर्फको विभिन्न क्लष्टरमा उम्मेदबारी दिएका हुन् । तनहुँले पाएको कुनै पनि क्लष्टरमा सर्वसम्मत भएको छैन ।



तनहुँ जिल्लाको भुगोलको खुल्ला तर्फ तनहुँले २ सदस्य पाएकोमा उक्त क्लष्टरमा ४ जनाले उम्मेदबारी दिएका छन् । इन्द्रबहादुर कुँवर, मेखबहादुर थापा, रामबहादुर गुरुङ र रामचन्द्र उपाध्यायले जिल्ला भुगोलको खुल्ला तर्फ उम्मेदबारी दिएका हुन् । त्यस्तै जिल्लाभरबाट महिला क्लष्टरमा ३ जनाकोलागि ४ जनाले उम्मेदबारी दिएका छन् । महिला तर्फ कृष्णकुमारी श्रेष्ठ, देवु विष्ट, विष्णुमाया ढकाल र रत्नादेवी घिमिरेले उम्मेदबारी दिएका छन् । यस्तै तनहुँले पाएको दलित १ सदस्यकोलागि मोहन सुनार र बाबुराम सुनारले उम्मेदबारी दिएका छन् ।
यसैगरि संघीय निर्वाचन क्षेत्रमा एक÷एक जना सदस्य पाएकोमा दुबै क्षेत्रमा दुई÷दुई जनाको उम्मेदबारी परेको छ । क्षेत्र नम्बर १ मा व्यासका अम्मरबहादुर भण्डारी र भानुका प्रेम राना तथा क्षेत्र नम्बर २ मा शुक्लागन्डकीका कमल ढकाल र भिमादका धर्म खनालले उम्मेदबारी दिएका छन् ।
यस्तै प्रदेश खुल्ला तर्फ तनहुँका खिमबहादुर महत, नारयण खनाल, श्यामराजा महत र सिताराम बजगाईले उम्मेदबारी दिएका छन् भने महिला खुल्ला तर्फ फुलमाया वाग्लेको उम्मेदबारी परेको छ ।
त्यसैगरि प्रदेश महिलाको युवा तर्फ डिना गोतामे, आदिवासी जनजाती तर्फ रनबहादुर राना र होम थापा तथा मुस्लिम तर्फ महोम्मद सुलेमान मियाँले उम्मेदबारी दिएका छन् । उम्मेदबारी फिर्ता लिने समय बाँकी नै रहेको हुँदा त्यो अवधिमा तनहुँको क्लष्टरमा सर्वसम्मती गराउन नेताहरुले पहल गरिरहेका छन् ।












