दमौली, असोज २७
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सामाजिक सन्जालमा प्राप्त सुचनाको आधारमा सवारी तथा ट्रापिक नियम उल्लंघन गर्ने सवारी साधन र सवारी धनीलाई कारवाही गर्ने भएको छ । सुचना प्रविधिको उपयोग गर्दै ट्राफिक प्रहरीले अब सामाजिक सञ्जालबाटै बिवरण संकलन गरि नियम उल्लंघन गर्ने सवारीधनीलाई कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए ।



सवारी चालक र सवारी साधनले नियम उल्लंघन भएको बारेमा जुनसुकै स्थानबाट पनि जो कोहीले ट्राफिक प्रहरीलाई सुचना दिन सक्ने विष्टले बताए । बढी भाडा लिएको, छतमा यात्रु चढाउने, चालकले मापसे गरेर सवारीसाधन चलाएको तथा अन्य जुनसुकै ट्राफिक नियम उल्लंघन गरेको पाइएमा जुनसुकै नागरिकले फोटो खिचेर पठाए पनि कारबाहीको दायरामा ल्याइने ट्राफिक प्रमुख विष्टले बताए ।
यसको लागि सर्वसाधरणले ट्राफिक प्रहरीको फेसबुक म्यासेन्जर, कार्यालयको मोवाईल नम्बर ९८५६०९०७९९, अस्थायी ट्राफिक प्रहरी कार्यालय बेलचौताराको मोवाईल नम्बर ९८५६०९१२०१, आवुँखैरेनीको मोवाईल नम्बर ९८५६०९१२०१ तथा डुम्रेको मोवाईल नम्बर ९८५६०९१२०२ मा भाईबर वा ह्वाट्सएप मार्फत पनि फोटो पठाउन सकिने विष्टले बताए । यसकोलागि सवारी साधनको नम्बर भने प्रष्ट देखिनु पर्ने उनको भनाई छ । यस्तो सवारी साधनलाई जुनैसुकै स्थान र समयमा पनि कारवाही गरिने विष्टले बताए ।

आम नागरिक पनि बिना बर्दीका प्रहरी भएको हुँदा राज्यका निकायलाई सहयोग गर्नु आम नागरिकको कतव्र्य भएको भन्दै विष्टले ट्राफिक प्रहरीको यो अभियानमा पनि सहयोग गर्न अनुरोध गरे । सुचना दिने नागरिकको विवरण गोप्य राखिने विष्टले बताए ।
विष्टले चाडपर्वको समयमा ट्राफिक नियम उल्लंघनको घटना बढि हुने हुँदा यो बेलामा ट्राफिक प्रहरी अन्य समयमा भन्दा सचेत बन्ने बताए । साथै उनले सर्वसाधरणले राजमार्गमा रहेका ट्राफिक प्रहरी पोष्टहरुमा रहेका प्रहरी र ट्राफिक प्रहरीको सहयोग लिन सक्ने व्यवस्था मिलाईएको विष्टले बताए ।












