दमौली, फागुन २९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यास नपा–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ ।



अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार शिक्षिका पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको उजुरी आयोगमा परेको थियो ।
पौडेलले भारतको वाणारसीबाट हाइस्कुल तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा काम गरिरहेकी थिइन् ।
तर उक्त प्रमाणपत्र नक्कली भएको पाइएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिम नक्कली प्रमाणपत्र पेश गरी अवैध लाभ उठाएको कसुरमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।












