दमौली, फागुन २९
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको तेस्रो साधारण तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट प्रेमप्रकाश भट्टराई सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।



उपाध्यक्षमा मंगलप्रसाद श्रेष्ठ र बिना कैनी, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुङ्गाना र मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा बाबुराम बगाले, सावित्री अधिकारी, गौरी थापा, अर्जुन गिरी, कुलबहादुर थापा, दुर्गाभक्त अधिकारी निर्वाचित भएको निर्वाचन प्रबन्ध समिति प्रमुख अधिवक्ता त्रिभुवन श्रेष्ठले जानकारी दिए ।

सो अधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री आलेले व्यास परासर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको १०८ फुटको वेदव्यासको मूर्तिलाई गण्डकी प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए । मन्त्री आलेले १०८ फिटको वेदव्यासको मूर्ति निर्माण भइसकेपछि पर्यटकीय र धार्मिक हिसाबले यस क्षेत्रको महत्व बढेर जाने विश्वास व्यक्त गरे ।

कार्यवहाक अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यासका अध्येता काशीनाथ न्यौपाने लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन कोषका महासचिव विष्णुभक्त सिग्देलले गरेका थिए ।












