अतिक्रमणमा चुँदी खोलाः खोलाबाटै पिल्लर उठाएर घर निर्माण

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत १०

तनहुँको बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ को सिमाना भई बग्ने चुँदी खोला अतिक्रमणको चपेटामा परेको छ ।

डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ । स्थानीयले दुवै तर्फबाट चुँदी खोला मिचेर साँघुरो बनाउँदै लगेका छन् ।

दशभन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्को क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ ।

खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदी खोला अतिक्रमण गर्ने क्रम बढेको छ । डुम्रे बजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ ।

चुँदी खोलाबाट मापदण्डविपरीत पुरानो पर्खालभन्दा करिब सात÷आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्डविपरीत पर्खाल लगाइरहेका छन् ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारबाही गरिने बताए ।

सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटक–पटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ