दमौली, बैशाख ३१
नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौं अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार अपरान्ह ४ बजेबाट मतगणना भएको हो ।



मंगलबार विहानसम्म मतगणना भईसक्ने निर्वाचन कमिटिले जनाएको छ । मतपत्र ठुलो भएको र उम्मेदबारहरु धेरै भएको कारण मतगणना कार्यमा ढिलाई भएको छ । पार्टी कार्यालय भित्र कडा सुरक्षाका साथ तिन वटा टोली परिचालन गरि मतगणना भईरहेको छ । मतगणनामा निजामती कर्मचारी संगठनमा आवद्ध निजामती कर्मचारीहरु संलग्न छन् ।
नयाँ नेतृत्वकोलागि आइतबार रातीबाट निर्वाचन भएको थियो । मतदान कार्य रातभर भएको थियो । विहान ८.४५ बजेसम्म भएको मतदानमा ५८६ मतदाता मध्ये ५६० मत खसेको निर्वाचन कमिटिले जनाएको छ ।
९९ सदस्यिय जिल्ला कमिटिमा विभिन्न भुगोल र क्लष्टर तर्फगरि २३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुल्लामा खिमबहादुर कुमाल र आरके पोख्रेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा छन् ।
मतगणनाको पा्रराम्भिक नतिजा अनुसार अध्यक्षका दुई उम्मेदबार विच कडा प्रतिश्पर्धा भएको छ ।












