देवघाट, साउन ६
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित बगन्दी टोलका बासिन्दालाई निशुल्क स्वास्थ्य सहुलियत कार्ड वितरण गरिएको छ । शनिबार बगन्दी टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष पुर्णबहादुर कुवँर तथा वडा सदस्यहरुको उपस्थितीमा सो स्वास्थ्य सहुलियत कार्ड वितरण गरिएको हो ।



देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालय र चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज(सिएमसी) बीच गत चैत ४ गते वडाबासीको स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौता पत्रमा देवघाट वडा नम्बर ५ का नागरिकहरुले चितवन मेडिकल कलेज (सिएमसि) मा उपचार गर्न चाहेका नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रचलित कानुनको अधिनमा रही स्वास्थ्य उपचार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।
उक्त सम्झौतामा उल्लेख भए अनुसार वडा नम्बर ५ का बासिन्दालाई स्वास्थ्य उपचार कार्ड मार्फत उपचार गरेमा चितवन मेडिकल कलेजले उपचारमा विभिन्न किसिमका छुट दिने भएको छ । सहुलियत काड प्राप्त वडाबासीलाई चितवन मेडिकल कलेज पक्षबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकमको छुट दिनेछ भने अस्पतालको फार्मेसीमा ७ प्रतिशत रकम छुट उपलब्ध गराउनेछ । अस्तालको ओपिडी टिकटमा र इमरर्जेन्सी टिकटमा पनि यो छुट हुनेछ ।
तर वडावासीले कुनै पनि विमा र मेडिकल लिगल केशमा भने उक्त छुट दाबी गर्न भने पाउने छैनन । उक्त सम्झौता पश्चात चितवन मेडिकल कलेजले वडा कार्यालयको इमेल मार्फत विवरणहरु इन्ट्रि गर्ने साइट उपलब्ध गराएको र उक्त साइटमा आफ्ना वडाबासीको सम्पूर्ण विवरणहरु कम्प्युटरमा राखि फोटो खिचाई कार्ड प्रिन्ट गराएको छ ।
यसैगरि वडा अध्यक्षको सिफारिसमा अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट दिईने र चितवनको रोयल क्यान्सर इन्सीच्यूटमा सन्चालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटको सिफारिस गर्नेछ । वडा कार्यालयको स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएमा मेडिकल कलेजले आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती उपलब्ध गराउने पनि सम्झौतामा उल्लेखछ । उक्त सम्झौता २०८० चैत ४ गते आईतबार गतेबाट लागू भई २०८४ चैत ३० गतेसम्म हुनेछ ।
सोही अनुसार तयार गरिएको सहुलियत कार्ड शनिबार वडा नम्बर ५ को सबैभन्दा दुर्गम मानिने बगन्दी टोलका ५५ जना नागरिकलाई वडा अध्यक्ष कुँवर, अन्य जनप्रतिनिधि, कर्मचारी र तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा वितरण गरिएको हो ।
उक्त सहुलियत कार्ड बनाउन कुनै शुल्क नलाग्ने भन्दै वडा अध्यक्ष कुँवरले अन्य टोलका नागरिकलाई पनि क्रमशः वितरण गरिने बताए । उक्त कार्यक्रममा वडा सदस्यहरु बुद्धिबहादुर पाण्डे, सरस्वती परियार, यामबहादुर मगर, वडा सचीव पविता खनाल, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।











