एलाइभमा ५० प्रतिशत छूटसहित गोपिलालले पाए देवघाट गाउँपालिकाबाट उपचार सहयोग

Devghat Online

शेयर गरौ

तुलमान गुरुङ । देवघाट, जेठ २०

देवघाट गाउँपालिका वडा नं.३, ल्हुङ्ग्रिङका गोपिलाल आलेमगरको उपचार सुरू भएको छ । आर्थिक अभावका कारण उपचार नपाएर बसेका मगरको देवघाट गाउँपालिका र भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरको सहयोगमा उपचार सुरू गरिएको हो ।

आर्थिक अभावका कारण उपचार खर्च नहुँदा विगत लामो समयदेखि घाइते हात बोकेर हिँडेका मगरलाई गाउँपालिकाको कार्यापालिका बैठकबाटै उपचारमा सघाउने निर्णय भएपछि अस्पतालले ५० प्रतिशत छूटमा उपचार सुरू गरेको हो ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले पालिकाभित्र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरेर समस्या समाधान गर्ने प्रयास गरिएको बताए । कमाउन खाडी गएका गोपिलालको आफैँले चलाएको सवारी दुर्घटनामा परेपछि बायाँ हात काम नलाग्ने अवस्थामा आइपुगेको थियो । करिब दुई वर्षसम्म उपचार गरेपछि पनि ठीक नभएपछि आर्थिक अभावका कारण घरमै बसिरहेका थिए ।

गाउँपालिका र अस्पताल दुवैले उपचार सेवामा सहुलियत दिने भएपछि गोपिलाल पुनः अस्पताल आएका हुन् । गोपिलालको विषयमा चितवन पोष्ट दैनिकमा समाचारसमेत प्रकाशन भएपछि देवघाट गाउँपालिकाले निर्णय नै गरेर उपचारको लागि ५० हजार रूपैयाँ व्यवस्थापन गरिदिएको पालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । अस्पतालसँग उपचारको लागि लाग्ने खर्चको विषयमा बुझेपछि गाउँपालिकाले रकम विनियोजन गरिदिएको उनले बताए ।

दुर्घटनामा परेका गोपिलालको हात काम नलाग्ने अवस्थामा पुगेपछि एलाइभ हस्पिटलमा आएर काटिएको छ । अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछाने नेतृत्वको समूहले गोपिलालको उपचार गरेका हुन् । परिवारसँग छलफल गर्दा काम नलाग्ने हात राख्न भन्दा फाल्दा फाइदा हुने भएपछि काटिएको उनले बताए ।

सकुञ्जेलसम्म आफैँले उपचार गरेका गोपिलालले लाखौँ रुपैयाँ खर्च गरिसकेका छन् । आफूसँग भएको सम्पत्तिबाट खर्च नपुगेपछि बीचमै उपचार रोकिएको थियो । घाउ भएको हातमा ठाउँठाउँमा घाउ निको नहुँदा फोहोर पानी बगिरहन्थ्यो । हरेक दिन सरसफाइ गरिरहनुपर्ने झन्झट थियो । त्यसबाहेक हात भएर पनि नचल्ने भएपछि अर्को हातको सहारामा बसिरहेका थिए । डा लामिछानेका अनुसार पाखुराको माथिल्लो भाग र तल्लो भागको हड्डी नै छुट्टिएपछि थप समस्या भएको थियो ।

‘हामीलाई सबै बिरामीको उपचार राम्रो गराउने, सबै बिरामीलाई स्वस्थ र सग्लो बनाउन रहर हुन्छ । तर, कतिपय बिरामीको अवस्था हेरेर अङ्ग नै फाल्नुपर्ने अवस्था पनि आउँछ,’ उनले भने, ‘गोपिलालको विषयमा पनि यही भएको हो । पछिका लागि अरु रोगको जोखिम हुन नदिन र दैनिक जीवनयापवनमा पनि बिग्रिएको हात राख्दाभन्दा फाल्दा राम्रो हुने भएपछि हात फालेका हौँ ।’

अस्पतालले गाउँपालिकाले छुट्याएको बजेटभित्रै उपचार गर्ने गरी काम गरेको उनले बताए । ‘बिरामीलाई पैसा नलाग्ने गरी उपचार दिएका छौँ । अबको तीन दिनमा अवस्था हेरेर घर पठाउन सकिन्छ,’ उनले भने, ‘बिरामीको स्वास्थ्यावस्था राम्रो छ ।’ गोपिलाललाई उपचारमा श्रीमतीले साथ दिएकी छन् । (चितवनपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले