बन्दिपुरमा श्रावण महिनाभर ‘शिव महिम्नाहा उत्सव’ आयोजना हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले भरिपूर्ण बन्दिपुरमा यस वर्ष पनि ‘शिव महिम्नाहा उत्सव’ आयोजना हुने भएको छ । श्रावण महिनाभर सञ्चालन हुने उक्त उत्सव ‘शिव महिम्नाहा उत्सव मूल आयोजक समिति’को संयोजनमा आयोजना गर्न लागिएको हो, यसको मुख्य प्रवद्र्धक ‘आदियोगी प्रज्ञा धाम’ रहेको छ ।

उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिका भित्रका विभिन्न संघसंस्था, धार्मिक मठ–मन्दिरका अगुवा तथा स्थानीय धार्मिक व्यक्तित्वहरुको समेत सक्रिय सहभागिता रहने छ । उत्सवको मुख्य प्रायोजन बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ भने विभिन्न वित्तीय संस्था तथा व्यापारिक संघ–संस्थाले सह–प्रायोजन र सहयोग गरेका छन् ।

उत्सव अन्तर्गत श्रावण १ गते लुतो फाल्ने कार्यक्रमबाट सुरुआत हुनेछ । त्यसपछिका दिनहरुमा श्रावण १ गतेदेखि ३१ गतेसम्म दैनिक संगीतमय ‘महादिव्य आरती’ गरिने छ । यसैगरी, श्रावण महिनाको प्रत्येक सोमबार ‘बोल बम कार्यक्रम’ आयोजना गरिनेछ ।

‘बोल बम कार्यक्रम’ अन्तर्गत मस्र्याङ्दी किनारमा अवस्थित शिवालय मन्दिरमा मस्र्याङ्दी नदीको जलबाट जलाभिषेक गरिनेछ । त्यसपछि त्यहाँबाट केवलकार चढी सिद्धेश्वर महादेव मन्दिरमा रुद्राभिषेक गरिने र बन्दिपुर डाँडाको तिनधारे ज्योतिर्लिङ्गमा पुगेर महादिव्य रुद्राभिषेक, भजन–कीर्तन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । अन्ततः केवलकारको बटम स्टेशनमा महादिव्य आरतीसहित कार्यक्रम समापन गरिनेछ ।

उत्सवको महत्वबारे जानकारी दिँदै मूल आयोजक समितिका अध्यक्ष कृष्णराज अधिकारीले धार्मिक पर्यटन प्रवद्र्धन र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए । साथै, समिति सदस्य सरोज सिग्देलले श्रावण महिनाभर भजन प्रतियोगिता समेत सञ्चालन गरिने जानकारी दिए ।

गत वर्ष अत्यन्त भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रम यस वर्ष अझ व्यापक रुपमा आयोजना हुने र बन्दिपुरलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने प्रयास रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी