तनहुँ । साउन ११
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई उनको जन्मस्थल भानु नपा–८ देउरालीटारमा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । भानु नगरपालिका वडा नम्बर ८ को संयोजनमा स्थानीय संघ संस्था तथा स्थानीयबासीले मन्त्री न्यौपानेलाई भव्य स्वागत गरेका थिए ।




सो कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले यही माटो र जन्मभुमीको मायाले देश र जनताको पक्षमा काम गर्ने प्रेरणा मिलेको बताइन् । देश र जनताको सेवा गर्न राजनीति गरेको भन्दै उनले राजनीति गर्ने को क्रममा कहिले पनि जनताको हित विपरितको काम र निर्णय नगर्ने प्रतिबद्धता जनाइन् । मन्त्री नहुँदा पनि तनहुँको विकासमा उल्लेख्य काम गरेको भन्दै न्यौपानेले तनहुँको विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताइन् । सो क्रममा वडा नम्बर ८ का वडाअध्यक्ष इश्वरबहादुर रिमाल लगायतले मन्त्री न्यौपानेलाई शुभकामना दिएका थिए ।

यसैगरि नेकपा एमाले भानु नगर कमिटिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नेकपा एमाले नेतृत्वको सरकारले देश विकासको लागि धेरै काम गरेको भन्दै आफुले पनि तनहुँको विकासमा योगदान दिने बताइन् । उक्त अवसरमा नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतले मन्त्री न्यौपानेलाई शुभकामना दिएका थिए ।

यस्तै भानु नगरपालिकाले आइतबार नगरपालिकाको कार्यालय फुस्रेटारमा मन्त्री न्यौपानेको स्वागतमा कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा मन्त्री न्यौपानेले भानु नगरपालिकाको विकासमा स्थानीय तहसँग हातेमालो र सहकार्य गर्ने बताइन् । सो कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले भानुको विकासमा सहयोग गर्न मन्त्री न्यौपाने समक्ष अनुरोध गरेका थिए ।













