देवघाटको सुन्तला बजारमा, तर सडक मार्ग नहुँदा ढुवानीमा समस्या

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर ८

तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर ३ को सुन्तला नेपालकै उत्कृष्ट मानिन्छ । यहाँ उत्पादित सुन्तला तनहुँ र पोखरा र चितवनको बजारमा मात्र हैन, काठमाडौंको कालिमाटी स्थित फलफुल बजारसम्म पुग्छ । गुणस्तरीय भएकै कारण उपभोक्ताको मागको कारण देवघाट गाउँपालिका वडा नम्बर ३ स्थित छिपछिपे, बाटक, छापस्वाँरा, लुङग्रिङ तथा दगरामा उत्पादित सुन्तला यसपाली राम्ररी पाक्न नपाउँदै बजार पुर्याउन थालिएको छ ।

देवघाटको वडा नम्बर ३ लाई तनहुँको कर्णालीका रूपमा चिनिन्छ । यो ठाउँ सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् । उक्त वडा हालसम्म सडक मार्गले छोएको छैन । कालीगन्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान ति कुनै पनि नदिमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त वडामा उत्पादित करोडौं मुल्यको सुन्तला बजारसम्म पु¥याउन सकस हुने गरेको छ ।

यसवर्ष उपभोक्ताको मागको कारण चाँडै नै सुन्तला बजार पठाईएको सुन्तला कृषक रणबहादुर मगरले बताए । सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत बर्ष भन्दा ३० प्रतिशत बढि पाईएको उनले बताए । राम्रो सुन्तला उत्पादन भएकै कारण व्यापारीहरुले गत वर्ष भन्दा राम्रो मुल्य दिएको उनको भनाई छ ।

गत वर्षहरुमा मंसिरको दोश्रो सातापछि मात्र सुन्तला बजार पठाउने गरिएको भएपनि यस वर्ष पहिलो साता मै पठाईएको सुन्तला कृषक प्रेमबहादुर मगरले बताए । सुन्तलामा रोग नलागेको भए यस वर्ष निकै बढि मुल्य पाइने उनले बताए । उक्त गाउँको सुन्तला प्रति क्रेट १४ सय रुपैयाँमा विक्री भएको मगरले बताए ।

केही अन्नबाली उत्पादन नभएर विगतमा कति दिन भोकै बस्नु पर्ने बाध्यता भएका बाटकबासी केही वर्ष यता भने सुन्तला बेचेरै लखपती भएको सुन्तला कृषक प्रेमले बताए । लुङग्रिङमा एकै घरबाट २० लाख भन्दा भन्दा बढिको सुन्तला विक्री हुने गरेको छ । नेकपा एमाले देवघाट वडा नम्बर ३ का वडा अध्यक्ष जित बहादुर थापाले यसवर्ष वडा नम्बर ३ बाट मात्रै ३ करोड भन्दा बढिको सुन्तला विक्री हुने अनुमान गरे । तर रोग नलागेको भए अझै धेरै सुन्तला विक्री गर्न सकिने उनले बताए । सुन्तलामा पनि मान्छेमा जस्तै विभिन्न किसिमको रोग लागेपछि कृषक धेरै नै चिन्तित भएको भन्दै उनले सुन्तलाको बोटमा जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेलो भई झर्ने रोग सुन्तलामा लागेको बताए ।

कृषकले बर्षाै मेहनेत गरेर हुर्काएको सुन्तलाको बाट रोग लागेर मर्न थालेको सुन्तला किसान हर्क बहादुुर थापाले बताए । रोग नलागेको सुन्तलाको बोटले ५० बर्ष भन्दा बढि समय फल दिने भन्दै अर्का कृषक जितबहादुर थापाले अव अर्काे वर्षबाट यस ठाउँका सुन्तलाको बोटले उत्पादन दिन नसक्ने हो की भन्ने चिन्ता लागेको बताए । रोगको पहिचान गर्न र समस्या समाधान गर्न कृषी ज्ञान केन्द्र असफल भएको उनले गुनासो गरे । त्यस क्षेत्रको मुख्य आम्दानीको रुपमा रहेको सुन्तलामा लागेको रोगको पहिचान गरि समयमै रोग निदानको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताए । सुन्तलामा लागेको रोगको विषयमा अनुसन्धान गरि रोग पहिचान गरि सो रोगलाई निर्मुल गर्न जरुरत रहेको थापाको भनाई छ ।

देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँ मुल्यको सुन्तला उत्पादन भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको अध्यक्ष थापाको भनाइ थियो । ग्रामीण क्षेत्र, सडक तथा पुलको अभावले भरियामार्फत ढुवानी गर्नुपर्ने लगायत कारणले बजारसम्म पु¥याउन समस्या हुने गरेको अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाले पनि वडा नम्बर ३ लाई सुन्तला उत्पादनको पकेट क्षेत्र तोकी कृषकहरुलाई अनुदान र तालिम दिईरहेको अध्यक्ष थापाले बताए ।

देवघाट–३ छापश्वरा लुङग्रिङका किसान प्रेम बहादुर मगरले लामो समयदेखि सुन्तला खेती गर्दै आएका छन् । उनले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पु¥याउन बाटो र पुलको अभाव र भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारिकरणमा समस्या हुने गरेको बताए । अहिले सुन्तला पु¥याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी तथा साराङघाटको बाटो प्रयोग गरी दमौली हुँदै काठमाण्डौ पठाउने गरेका किसान बताउँछन् ।

सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको सुन्तला कृषक भिमबहादुरले बताए । ‘केही किसानले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्’, उनले भने ‘छापस्वारा दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाण्डौ लैजाने गरेका छन् ।’

विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । तर हाल बिचौलियाहरु नै सुन्तला खरिद गर्न गाउँमा पुग्छन् । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन । पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाण्डौसम्म बजार विस्तार गर्न बाध्य भएका हुन् । पुल र बाटो नभएकै कारण यहाँका स्थानीयले उचित मुल्य पाउन नसकेका हुन् ।

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पु¥याउने गरिएको छ । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीका लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको छ । पक्कि पुल भए देवघाटमा पाइने निउरो, तामा, कफी, अलैची, टिमुर, कुचो जस्ता चिजहरु बजार क्षेत्रमा सजिलै लान सकिने र त्यसले यी ठाउँका मानिसहरुले आम्दानी स्रोत बढाउन सकिने कृषक प्रेमबहादुरले बताए । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय