तनहुँ । मंसिर २१
जिल्ला प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा करिब १५ हजार नागरिकलाई प्रत्यक्ष्य सेवा दिएको छ । असहज अवस्थाको बाबजुद प्रशासनले यो अवधमा १४ हजार ९४६ जना नागरिकलाई प्रत्यक्ष सेवा दिएको छ ।
प्रशासनले सबैभन्दा बढि संख्यामा सेवा राष्ट्रिय परिचयपत्रको विवरण संकलनमा दिएको छ । उक्त अवधिमा ५ हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको छ । त्यसपछि क्रमशः राहदानीकोलागि विवरण संकलन ३ हजार ६५९ जना, नागरिकताको प्रमाणपत्र प्रदान ३ हजार ६०७ जना, सिफारिस तथा प्रमाणिकरण १ हजार २३१ जना, गुनासो सम्बोधन ४३४ जना, संस्था दर्ता तथा नविकरण ३९८ जना, नावालाक परिचयपत्र वितरण १४० जना, हातहतियार नविकरण ६५, बैठक ३२ वटा र मुद्धा १० सम्बन्धी सेवा १० वटा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।



भदौ २४ गतेको प्रर्दशनमा जिल्ला प्रशासन कार्यालयको भवन जलेर ध्वस्त भएपछि केही दिन सेवा अवरुद्ध भएको थियो । पछि गाडी राख्ने ग्यारेजबाट सेवा सुरु गरेको उक्त कार्यालयले सबै सेवा अस्थायी टहरा तथा कार्यालयमै रहेको तल्लो तलाबाट जोखिमपुर्ण रुपमा दिईरहेको प्रजिअ अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष भने नजिकैको दमौली सभागृह हलको कोठाबाट सन्चालन गरिएको छ ।

सेवा ग्राहीको चाप बढेपछि केही दिन राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा विहान ८ देखी साँझ ६ बजेसम्म प्रदान गरिएको थियो । कार्यालयले यो अवधिमा अति अशक्त व्यक्तिलाई घरमै गएर समेत नागरिकताको प्रमाणपत्र प्रदान गरेको प्रजिअ अधिकारीले बताए । यो अवधिमा कार्यालयबाट विभिन्न शिर्षकमा १ करोड १८ लाख १५ हजार ८८५ रुपैयाँ राजश्व समेत संकलन भएको छ ।
कार्यालयमा यो तिन महिनाको अवधिमा विभिन्न माध्यमबाट ६१९ वटा गुनासो दर्ता भएकोमा ४३४ वटा गुनासो फस्र्यौट भएको प्रजिअ अधिकारीले जनकारी दिए । सबैभन्दा बढि गुनसाो नागरिक एप मार्फत ५२७ वटा दर्ता भएको थियो । जसमध्ये ३८७ वटा फस्र्यौट भएको छ । त्यस्तै कार्यालयमा निबेदन मार्फत ३४ वटा गुनासो दर्ता भएकोमा सबै फस्र्यौट भएको छ । त्यसैगरि नियामक निकाय मार्फत १३ वटा गुनासो दर्ता भएकोमा सबै फस्र्यौट भएको छ । हेल्लो सरकार र कार्यालयमा राखिएको क्युआरकोड मार्फत पनि गुनासो दर्ता गर्न सकिने भएपनि उक्त दुबै माध्यमबाट कुनै पनि गुनासो दर्ता नभएको प्रजिअ अधिकारीले बताए ।
भदौ २४ को आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय पुर्णरुपमा जलेर ध्वस्त भएपछि कार्यालय कहाँबाट सन्चालन गर्ने भन्ने अझै अन्यौलको अवस्थामा रहेको प्रजिअ अधिकारीले बताए । नागरिकको सबैभन्दा बढि प्रतक्ष्य सरोकार हुने र सबैभन्दा बढि सेवाग्राही आउने जिल्ला प्रशासन कार्यालय अस्थायी टहराबाट सन्चालन गर्नुपर्दा निकै समस्या भएको भन्दै प्रजिअ अधिकारीले अस्थायी रुपमा कार्यालय सन्चालनकोलागि संघ र प्रदेश सरकार समक्ष विभिन्नि विकल्पहरु दिईएको बताए ।
विकल्पको रुपमा हाल कृषि विकास कार्यालय भएको भवन केही वर्षको लागि जिल्ला प्रशासन कार्यालय सन्चालनकोलागि दिने र कृषि विकास कार्यालयलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसरमा वा साविकको सामाजिक विकास कार्यालय रहेको भवनमा व्यवस्था गर्न सकिने विकल्प प्रस्तुत गरिएको छ । त्यसैगरि साविक घरेलु तथा पर्यटन कार्यालय रहेको भवन जिल्ला प्रशासनलाई दिएर घरेलु कार्यालयलाई हाल एकिकृत भएको सामाजिक विकास कार्यालयको भवनबाट सन्चालन गर्न सकिने विकल्प पनि प्रस्तुत गरिएको प्रजिअ अधिकारीले बताए । तर उक्त दुबै विकल्पमा हालसम्म केही निर्णय नआएको प्रजिअ अधिकारीले जानकारी दिए । कार्यालय सन्चालनको लागि उपयुक्त विकल्पमा ढिलाई हुँदा सेवा प्रवाहामा निकै असहजता भएको उनको भनाई छ ।












