४० माइक्रोन भन्दा पातालो प्लास्टिक प्रयोगमा रोक लगाइने
देवघाट । मंसिर २५



प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधामलाई प्लास्टिक मुक्त क्षेत्र बनाईने भएको छ । तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको धार्मिक क्षेत्र देवघाटलाई प्लाष्टि मुक्त क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
देवघाटमा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फुल प्रसाद ल्याएर उक्त प्लाष्टिक नदी क्षेत्रमा छाडेर जाँदा वातावरण प्रदुषण हुने गरेको भन्दै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटधाम क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन विभिन्न कार्यक्रम गरिएको बताए ।
देवघाट क्षेत्र विकास समितिले प्लास्टिकमुक्त देवघाट बनाउने अभियान सुरु गरेको छ । नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले उक्त अभियान सञ्चालन गर्न लागेको बिहीरबार देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान सुरु गरिएको पत्रकार सम्मेलनमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरी लौडारीले जानकारी दिए । उनका अनुसार देवघाट क्षेत्रभित्र प्लास्टिकलाई निरुत्साहन गर्न अभियान नै सञ्चालन गरिने छ । देवघाट स्नान गर्न आउने तीर्थालुले प्लास्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छाड्दा यसले पर्यावरणमा असर पु¥याएकाले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको उनको भनाई छ ।
यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै यस अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्धत पुग्ने अध्यक्ष लौडारीले बताए । फोहोर व्यवस्थापन गर्न सकिएन भने जलचरमा ठुलो समस्या आउने उनले बताए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले प्लास्टिकजन्य फोहरलाई निरुत्साहन गर्नका लागि देवघाट क्षेत्र विकास समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको जानकारी दिए । प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उनले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालले जानकारी दिए ।
सहमती संस्थाका अध्यक्ष ओमनाथ सुवेदीले सर्वसाधरणमा फोहार व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन सके नारायणी नदीलाई स्वस्छ बनाउन सकिने बताए । धार्मिक क्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो रहेको भन्दै प्लाष्टिक जन्य फोहोर व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताए । नारायणी नदीको सरसफाईलाई व्यवस्थित बनाउनका लागि आफूहरुले तीन वर्षदेखि काम गरिहेको बताउँदै अहिले ‘नदी संगै हामी अभियान’ मा १३ वटा संस्था लागेको बताए । यो अवधिमा विभिन्न संघ संस्थासंग मिलेर सरसफाई सम्बन्धी १५० भन्दा बढी कार्यक्रम गरिएको उनले बताए ।
बेटर चितवनका इन्जिनियर सागर कार्कीका अनुसार नारायणी नदीको भरतपुर महानगरपालिका तर्फ प्रतिहेक्टर १ हजार ३६१ र गैडाकोट तर्फ प्रतिहेक्टर १६३ केजि फोहोर रहेको छ । पछिल्लो समयमा फोहोरको मात्रा कम भएपनि भरतपुर तर्फभन्दा गैँडाकोट तर्फ हानिकारक फोहोरको लिक्विड बढी रहेको उनले बताए । देवघाटमा दाहासंस्कार गर्दा निस्कने फोहोर बढी छ । कालिगण्डकी र त्रिशुलीको सभ्यता बचाउन भरतपुर महानगरपालिका, देवघाट गाउँपालिका र गैँडाकोट नगरपालिका लाग्नुपर्ने सहमति संस्थाका कार्यक्रम संयोजक तारा सुवेदीले बताए ।
देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट गाउँपालिकासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समिति र सहमति संस्था विच यस अघि देखी निरन्तर छलफल हुँदै आएको देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले बताए ।
देवघाटलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउनको लागि धेरै प्रक्रियाहरु गर्दै आएको भन्दै कार्यक्रम संयोजक सुवेदीले प्लाष्टिक मुक्त क्षेत्र बनाउनको ४० माइक्रोन भन्दा पातालो प्लास्टिक प्रयोगमा रोक लगाइने बताए ।












