देवघाट । पुस २४
चितवनको भरतपुर महानगर र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलको मर्मत सम्भार सुरु गरिएको छ । माघे संक्रान्तिलाई लक्षित गरि पुल मर्मत सम्भार गरिएको हो । पुल मर्मत गर्ने प्रयोजनकोलागि विहिबारदेखी पुस २७ गतेसम्म विहान १० बजेदेखी ४ बजेसम्म उक्त पुलमा पुर्णरुपमा आवत जावत गर्न रोक लगाईएको छ ।



शहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजन ललितपुरले उक्त पुल मर्मत सम्भार गर्न लागेको हो । पुलको मर्मत, रङरोगन तथा सरसफाईको जिम्मा काठमाडौं स्थित आर.ए.एस फाउन्डेशनले लिएको छ । तिन लाख रुपैयाँको लागतमा उक्त पुलको मर्मत थालिएको हो । मर्मत सम्भार योजना अन्तर्गत ५६ वटा नयाँ डेक फेर्ने, सस्पेन्सर कस्ने, नट बुल्ट मजबुद बनाउने तथा पुलको रङ रोगन गर्ने र सरसफाई समेत गरिने फाउन्डेशनले जनाएको छ ।

४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएकोमा अत्याधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि पुल झन जिर्ण भएको छ । पुलमा सम्भावित दुर्घटना हुन नदिन केही दिन यता मोटरसाईकल आवत जावतमा रोक लगाईएको छ ।
२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि सस्पेन्सन बृज डिभिजनले प्रत्येक वर्ष मर्मत गर्दै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए । देवघाटमा मेला हुने दिनमा दैनिक २५/३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् ।

साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।
देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।
निर्माण भएयताको यो ४४ वर्षमा करिब ३ करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवत जावत गरिसकेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुने पौडेलले बताए ।












