शुक्लागण्डकीमा हत्या गरिएको अवस्थामा दुई पुरुष र एक महिलाको शव फेला

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २६

शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाट स्थित शुक्लागण्डकी नगरपालिकाको निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र नजिकै दुई पुरुष र त्यसको करिब ७ सय मिटर पर जंगलछेउमा एक महिलाको शव फेला परेको छ । मृतक मध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका ३९ वर्षिय नारायण विकको मात्र पहिचान खुलेको छ । अर्का पुरुष र महिलाको पहिचान खुलेको छैन ।

फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारामा खबर गरेका थिए । उक्त दुई शव फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर भेटिएको थियो । नामथर र ठेगाना नखुलेका मृतक पुरुष र महिला प्रशोधन केन्द्र बाहिर टहरा बनाई बस्दै आएका थिए । सुरुमा दुई पुरुषको शव भेटिएपछि घटनास्थल वरपर हेर्दै जाँदा एक महिलाको शव पनि भेटिएको हो ।

मृतक विक ग्रिन रोड कम्पनीका मजदुर हुन् । उनी विगत तिन महिनादेखी प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए । मृतक पुरुष र महिला पनि बजारको फोहोर मैला संकलन गरि प्रशोधन केन्द्र नजिकै बस्दै आएका थिए । मृतक तिनै जनाको अवस्था हेर्दा उनीहरु दुवैलाई धारिलो हतियार प्रहार गरि हत्या भएकोे देखिने प्रतक्ष्यदर्शीको भनाई छ । नारायण र अर्का पुरुषको पेटमा तथा महिलाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिने प्रतक्ष्यदर्शीको भनाई छ ।

उक्त घटना जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । पछि जिल्ला प्रहरी कार्यालयमा जानकारी पश्चात तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गई अनुसन्धान सुरु गरेको छ । अनुसन्धानकोलागि प्रहरीले पोखराबाट तालिम प्राप्त कुकुर समेत ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको बताए । उनले घटनामा संलग्नहरु चाँडै नै पक्राउ पर्ने दाबी गरे । डिएसपी विकले उक्त घटनाको प्राराम्भिक अनुसन्धान गर्दा हत्या भएको देखिने बताए । घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताए । तिनवटै शवलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रादेशिक अस्पताल ल्याईएको छ ।

शुक्लागण्डकी नगरपालिकाको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि गत बैशाख दोस्रो साता नगरपालिकाका, ग्रिन रोड कम्पनी, सूर्य नेपाल प्रालिबीच सम्झौता भएको थियो । प्लाष्टिक मिश्रित रोड, ग्रिन ब्रिक बनाई प्लाष्टिकहरुको उचित व्यवस्थापन गरी वातावरण संरक्षण, जनचेतना अभिवृद्धिमुलक कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आइरहेको गैर नाफामुलक ग्रिन रोड कम्पनीले आगामी १० वर्षकोलागि फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको थियो । तर उक्त केन्द्र हालसम्म सञ्चालन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू