तनहुँ । पुस २६
तनहुँको सबैभन्दा पुरानो व्यास नगरपालिकाको ४४ औं नगरसभा शुक्रबार नगरपालिका मातहत सन्चालनमा रहेको दमौली सभाहलमा सम्पन्न भयो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त नगरसभाले १० वटा प्रस्तावहरु परि गरेको थियो ।



सभाको अध्यक्षता गर्दै नगर प्रमुख बैकुन्ठ न्यौपानेले नगरको हालसम्मको प्रगति समीक्षा प्रस्तुत गरेका थिए । नगर उपप्रमुख ईन्दिरा दरैले संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक,संशोधित राजश्व र व्ययको अनुमान र न्यायिक समितिको प्रतिवेदन पेश गरेकी थिइन् । त्यस्तै बिधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, संशोधित वन ऐन र समितिको प्रतिवेदन पेश गरेका थिए ।
बैठकमा संस्थागत व्यवस्था तथा क्षमता विकास समितिका संयोजक दल बहादुर दुराले समितिको प्रतिवेदन, सदस्य बिष्णु कुमार श्रेष्ठले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र दरबन्दी संरचना पेश गरेका थिए । लेखा समितिकी संयोजक गौ कुमारी न्यौपानेले लेखा समितिकी प्रतिवेदन र आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति लगायत ५ बटै विषयगत समितिका संयोजकबाट समितिको प्रतिवेदन पेश गरेका थिए ।
उक्त सभाले प्रस्तुत सबै विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्नुका अतिरिक्त नगर कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन, कर्मचारीहरूको तलबी प्रतिवेदन, बार्षिक खरिद योजना पारित गर्दै मलेपलाई करीब १८ करोडको सैदान्तिक बेरूजु सम्परीक्षण गरिदिन नियमित गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।
सभाले केही नयाँ शिर्षकहरूमा कर प्रस्ताव गरेको थियो भने ४३ औ नगरसभाबाट प्रस्तावित आय भन्दा न्यून राजश्व प्राप्ति हुने देखिएको भन्दै करीब १० करोड घटाई न्यून बजेट पारित गरेको छ । यसबाट वडातर्फका योजनाहरूमा खासै प्रभाव नपरेपनि स्थानीय राजश्व वाँडफाँड तर्फका सम्झौता नभएका आयोजनाहरू प्रभावित भई कार्यान्वयनमा जाने छैनन् ।












