तनहुँ । माघ २६
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिन हुनसक्ने उच्छृङखल गतिविधि र हुलदङ्गा नियन्त्रणकोलागि तिनवटै सुरक्षा निकायले गर्ने कार्यको नमुना अभ्यास प्रर्दशनी गरिएको छ ।



सुरक्षा निकायहरुको तर्फबाट सोमबार व्यास नपा ५ को खेलमैदानमा उक्त नमुना अभ्यास प्रर्दशनी गरिएको थियो । सो क्रममा मतदानको दिन मतदान स्थलमा हुनसक्ने सम्भावित उच्छृङखल गतिविधि नियन्त्रण गरि निर्वाचनलाई स्वच्छ, भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न गरिने कार्यहरुको प्रस्तुती गरिएको थियो ।

निर्वाचनको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रुपमा परिचालित भएका छन् । ति सुरक्षा निकायले निर्वाचनको सुरक्षाकोलागि कसरी सहकार्य गरि काम गर्छन् भन्ने बारेमा उक्त अवसरमा प्रर्दशनी गरिएको थियो ।
मतदान बिथोल्न आउने समुहलाई अन्तिम समयमा सेनाले बल प्रयोग गरि स्थिती नियन्त्रणमा लिनु पर्ने अवस्थाको बारेमा पनि सो क्रममा प्रर्दशनी गरिएको थियो । यसैगरि सोही अवसरमा नमुना मतदान समेत प्रर्दशनी गरिएको थियो । सो क्रममा मतदान केन्द्रको निर्माण कसरी गर्ने भन्ने बारेमा जानकारी गराईएको थियो ।

सो अवसरमा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपुर्ण बनाउन सुरक्षा निकायले भरपर्दाे ढङ्गले काम गर्ने बताए । सबै नागरिकले भयरहित रुपमा मतदानमा भाग लिन पाउने वातावरण निर्माण गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचन कार्यलाई विश्वसनीय बनाउन राज्यको सुरक्षा अङ्गहरुले समन्वय र सहकार्यमा काम गर्ने बताए ।

उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुखहरु तथा सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।












