मिलेका महिला मनहरुः महिला मतदाता भन्छन् – ‘यसपटक इतिहाँस रच्ने हो’

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपाने बुधबार दमौली बजारमा घर दैलो अभियानको क्रममा मतदाताहरुसँत आत्मियता साट्दै । तनहुँ क्षेत्र नम्बर १ मा पहिलो पटक नेकपा एमालेले प्रभावशाली महिला नेतृलाई उम्मेदवार बनाएपछि विशेषगरि महिला मतदातामा उत्साह छाएको छ ।

घर दैलोको क्रममा महिला मतदाताहरुले एमाले उम्मेदवार भगवतीलाई देखेपछि अंकमाल गर्ने, खुसी व्यक्त गर्ने र आत्मियता साट्ने गर्दै आएका छन् । सँधैभर महिलाको भोट चाहिने तर महिलालाई उम्मेदबार बनाउन नचाहाने प्रबृत्तीको विपरित एमालेले यसपटक महिलालाई उम्मेदवार बनाएको छ ।

एमालेले देशभर १० जना महिललाई प्रतक्ष्य तर्फ उम्मेदवार बनाएकोमा तनहुँ क्षेत्र नम्बर १ एउटा हो । भगवती एक सामान्य महिला मात्र नभएर लामो समय महिला आन्दोलन र संघर्षबाट खारिएकी नेतृ हुन् । उनी महिला हक र अधिकार स्थापित गर्न तिन दशक भन्दा बढि समय सक्रिय भईन् । चाहे विद्यार्थी आन्दोलन होस वा चाहे पार्टीको जिम्मेबार तहमा पुग्दा नै किन नहोस् भगवतीले सँधै महिलाकै पक्षमा आवाज उठाउँदै आइन् ।

उनी यस अघि ६ बर्ष राष्ट्रिय सभाको सांसद रहँदा पनि सदनमा महिला अधिकारकै पक्षमा आवाज उठाईरहेको सुनिन्थिन् । यसअघि ५३ दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा समेत भगवतीले आफ्नो मन्त्रालयलाई महिलामैत्री बनाएकी थिइन् । मन्त्रालयको प्रमुख महाशाखाहरुमा महिलालाई जिम्मेबारी दिएकी थिइन् । मन्त्रालयको सचिव समेत महिलालाई नै बनाउने उनको चाहाना भने चाँडै नै मन्त्रालयबाट बिदा हुनुपरेको कारण पुुरा हुन सकेन ।

भगतवी न्यौपानेको सबै जसो घरदैलो र चुनावी अभियानमा उल्लेख्य संख्यामा महिलाहरुले साथ दिदै आएका छन् । यसपटक तनहुँ क्षेत्र नम्बर १ मा महिला उम्मेदवार भएको हुँदा महिलाले साथ दिनुपर्ने महिला मतदाताहरुले बताएका छन् । महिलालाई चुनाव जिताएर यस पटक इतिहाँस रच्ने महिला मतदाताहरु बताउँछन् । महिलाहरुको उल्लेख्य साथ र समर्थनले सहभागिताले यसपटक एमालेले चुनाव जित्ने अखिल नेपाल महिला संघ तनहुँकी अध्यक्ष सीता थापा पाण्डेले बताइन् ।


उम्मेदवार न्यौपानेले पनि मतदातासँगको भेटमा महिला सशक्तिकरण र सामाजिक न्यायको लागि काम गर्ने प्रतिबद्धता जनाउने गरेकी छिन् । उनले महिला सशक्तिकरण र सामाजिक न्यायसँगै महिला र पुरुष दुवैलाई समान अवसर, सम्मान र सहभागिता सुनिश्चितताको लागि काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

महिलाको आर्थिक सशक्तिकरणका लागि सहकारी, उद्यम र सीप विकास, हिंसा पीडित, एकल र विपन्न महिलालाई सुरक्षा र पुनःस्थापना कार्यक्रम सन्चालन, नीति र निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता, दलित, जनजाति, अपाङ्गता भएका नागरिक र पिछडिएका समुदायको समावेशी पहुँचको लागि प्राथमिकताका साथ काम गर्ने न्यौपानेले बताएकी छिन् ।

रोजगारीका विभिन्न क्षेत्रहरुमा महिला, बालबालिकाको विशेष संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय प्रवद्र्धन र नेतृत्व क्षमता विकासमा प्राथमिकता तथा स्थानीय तहमा महिला उद्यम, स्वरोजगार र वित्तीय पहुँचलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता छ ।

महिला आधा आकाश मात्रै नभएर सिर्जना र सृष्टि रहेको भन्दै न्यौपानेले यस पटक महिलाहरुले महिला उम्मेदवारलाई नै जिताएर इतिहाँस रच्न आतुर रहेको बताइन् । अहिलेसम्म ठुला पार्टीहरुले महिलालाई उम्मेदवार नबनाउँदा मतदातामा निराशा रहेको अवस्थामा एमालेले आफुलाई उम्मेदवार बताउँदा महिला मतदातामा उत्साह बढेको न्यौपानेले बताइन् । ‘अवको जित हाम्रो हो, जनताको सम्मान र हाम्रो भविष्यको जित हो’ न्यौपानेले भनिन् ‘जनताको सम्मान र भविष्यको लागि सुर्य चिन्हमा मतदान गरि मलाई बिजयी गराउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू