तनहुँ । फागुन १८
नेकपा एमालेले आइतबार दमौलीमा विशाल महिला र्याली निकाल्यो । चुनावी अभियानको क्रममा एमालेले पहिलो पटक महिलाहरुको नेतृत्वमा र्याली निकालेको थियो । आबुँखैरेनी, डुम्रे र दमौलीमा एकै दिन हजारौंको संख्यामा महिला ¥याली निकालिएको थियो ।



महिला र्याली पश्चात ठुलो उत्साह बढेको नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले क्रमशः शुक्रबार र शनिबार दमौलीमा विशाल र्याली प्रर्दशन गरेपछि एमालेले कस्तो प्रर्दशन गर्छ भन्ने चासो बढेको थियो । एमालेमाथी पनि प्रतिश्पर्धी पार्टीहरुको भन्दा ठुलो प्रर्दशन गर्न दवाव परेको थियो । एमालेले आम मतदाताको चासो अनुसार आइतबार क्षेत्र नम्बर १ का तिन ठुला शहरमा विशाल महिला र्यालीको आयोजना गरि सबैको एकमुष्ठ जवाफ दिएको कार्यकर्ताहरुले बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटिका सचिव एवं तनहुँ क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटिका संयोजक प्रदिपराज अधिकारीले महिलाहरुमा देखिएको उत्साहपछि तनहुँ क्षेत्र नम्बर १ मा एमालेले चुनाव जित्ने निश्चित भएको दाबी गरे । एमाले सकियो भन्नेहरुलाई महिला र्यालीको सहभागिताले जवाफ दिएको अधिकारीले बताए ।

अन्य पार्टीहरुले सबै क्षेत्रलाई समेटेर र्याली निकालेको अवस्थामा एमालेले महिलाहरुको अगुवाईमा विशाल र्याली निकालेपछि अन्य प्रतिश्पर्धी पार्टीहरुले पनि एमालेको शक्ति देखेर सोच्न बाध्य भएको बताएका छन् । अहिले मतदातामा महिलाहरुको संख्या अधिक भएको हुँदा महिलाहरुले चाहे भने कुनैपनि उम्मेदवारलाई जिताउने र हराउन सक्ने अवस्थामा देखिएका छन् । एमालेले महिलालाई नै उम्मेदवार बनाएको हुँदा महिलाहरुको अगुवाईमा र्याली निकालेको हो ।

प्रदर्शनपछि दमौलीमा आयोजित कोणसभामा बोल्दै एमाले नेतृ एवं पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले देश निर्माणका लागि नेकपा (एमाले)ल जित्नुपर्ने बताइन् । पौडेलले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेबीचको भएको जिकिर गरिन् । उनले जब जब देश अप्ठ्यारोमा पर्छ तब तब एमालेको नेतृत्व देश बचाउनका लागि उभिने गरेको बताइन् ।

नेकपा (एमाले) का तर्फबाट तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले यसपटकको निर्वाचनमा यो क्षेत्रले इतिहास रच्ने बताउँदै एमालेको जित सुनिश्चित रहेको दावी गरिन् । न्यौपानेले देशको स्वाधिनता बचाउनका लागि एमालेले जित्नुपर्ने बताइन् ।












