तनहुँ । फागुन १८
नेपाली कांग्रेसका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोबिन्द भट्टराईले आफूसँग तनहुँको रुपान्तरण गर्नका लागि गुरुयोजना भएको बताएका छन् । आफू जन्मिएको हुर्किएको ठाउँ भएकाले पनि तनहुँको रुपान्तरणका लागि आफूसँग विशेष योजना भएको उनले बताएका छन् ।



‘यो म जन्मिएको, हुर्किएको र यहीँ ठाउँ मैले घुमेको ठाउँ हो,’ उनले भने, ‘तनहुँको जलआधारदेखि पर्यटन, यहाँको धार्मिक पर्यटनको सम्भावनादेखि यहाँका अन्य विषयमा हामीले गर्न सकिने विकासबारे मसँग स्पष्ट भिजन छ ।’ उनले यही आधारमा आफूले ५ वर्ष, ५ पालिका ५५ कामको घोषणापत्र तयार गरेको पनि बताए ।
आम मतदाताले यसपटक आफूलाई विश्वास गरेको पनि उनको दाबी छ । ‘स्थानीयहरु बदलिएको कांग्रेस र यसले देश बदल्न सक्ने कुरामा निर्धक्क हुनुहुन्छ,’ उनले भने, ‘हामीले मतदातालाई विश्वास दिलाएका छौँ–सुशासन र युवालाई सँगसँगै लिएर अगाडि बढ्ने हाम्रो प्राथमिकता हो ।’
उनले चुनावी अभियानमा आफूले पाएको सहयोगका लागि मतदातालाई आभार पनि प्रकट गरेका छन् । गोबिन्द भट्टराईले आफू २०५३ सालमा नेवि संघ सभापति हुँदा पनि सुशासनको पक्षमा आफूले वकालत गरेको स्मरण गराउँदै भने, ‘देशलाई अब विकास गर्ने जिम्मेवारी नेपाली कांग्रेसको हो ।’












