बन्दीपुर–केशवटार नेपाल कै पहिलो होमस्टे सर्किट

Devghat Online

शेयर गरौ

हरिसिंह गुरुङ

सांस्कृतिक सम्पदालाई मूल आधार वनाई स्थानीय उत्पादन र पर्यावरणसँग रमाउने समुदायमा आधारित पर्यटन उद्योग नै होमस्टे (घरबास) हो । होमस्टे नेपालीमा उल्थागर्दा घरबास रहेता पनि यसको वास्तविक अर्थ भने पारिवारिक वसाई भन्ने बुझिन्छ ।

नेपालका पुराना गाउँवस्ती, सहर एवं अड्डाहरु एक पटक खण्डहर वनिसके पश्चात पुनः जीवन प्राप्त गर्नेहरु सायद विरलै पाईन्छ । ती मध्ये विभिन्न अरोह अवरोह पार गर्दै व्यापारिक केन्द्रबाट पर्यटकीय हवको रुपमा पुनः जीवन प्राप्त गर्न सफल खुल्ला जीवन्त सांस्कृतिक संग्रहालयको स्वरुप विकास भएको सानो सुन्दर सहर हो बन्दीपुर । पहाडकी रानी उपनामले प्रसिद्धी कमाइसकेको बन्दीपुरले अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो छुट्टै छवी स्थापित गरिसकेको छ । त्यसैले त बाहिरी विश्वको चिन्ता नगरी एक्लै गुन्गुनाउने र आरामदायी समय खोज्नेहरूका लागि उत्कृष्ट गन्तव्य वन्दै छ बन्दीपुर ।

 

बन्दीपुर भ्रमण वर्ष २०२५ को अपार सफलताको लगतै बन्दीपुरले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । नेपालको पर्यटन नीति २०८२ को मूल मर्म ‘अद्धितीय पर्यटकीय गन्तव्य नेपाल’ तथा नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधिकरण गरिने नीति अनुसार बन्दीपुरसंगसंगै तनहुँका अन्य पर्यटकीय गन्तव्यहरुलाई समेत विभिन्न कार्यक्रमका माध्यम राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरसम्म जोड्दै जाने क्रममा बन्दीपुरले केही नवप्रवर्तनीय कार्यक्रमहरु समेत निर्माण गरेकोछ, जसमध्येको एउटा हो बन्दीपुर केशवटार होमस्टे सर्किट ।

करिव ७५ कि.मि. चक्रीय दुरीमा फैलिएको यस सर्किटले १४ होमस्टे सहित २० विभिन्न गाउँहरुलाई समेट्दछ । यस सर्किट अन्तर्गत विशेषतः गुरुङ, मगर र नेवार समुदायहरुका अलावा अन्य विभिन्न समुदायहरुबाट (क्षेत्री, ब्राम्हण र दलित) सञ्चालित होमस्टेहरुमा फरक फरक अनुभव संगाल्न सकिनेछ । बन्दीपुर गापाका प्राय सवै वडाका साथै व्यास नपाको वडा नं. १४ लाई समेत समेटिने यस सर्किटले होमस्टे सशक्तिकरणका साथसाथै पर्यटन गतिविधिका माध्यम ग्रामीण समुदायको सुख, शान्ती र समृद्धिमा सघाउ पु¥याउने छ ।

सम्भवतः नेपालकै पहिलो होमस्टे सर्किटको रुपमा विकास हुन लागेको यस सर्किटलाई योजनावद्ध तरिकाले विकास गर्ने उद्देश्यका साथ गत चौत १ गते बन्दीपुर गापाका अध्यक्ष सुरेन्द्र थापाज्यूको अध्यक्षतामा पहिलो छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त छलफल कार्यक्रमले सर्किट विकासका लागि ३ विभिन्न चरणका कार्यक्रमहरु तय गरेको छ । जस अन्तर्गत पहिलो चरणको प्रारम्भ यही चैत्र १४ र १५ गते दुवै पालिकाका प्रमुखज्यूहरुसंग पर्यटन तथा संस्कृतविद्, पर्यटन व्यवसायीका साथै प्राविधिक टीमले समग्र सर्किटको अध्ययन अवलोकन सहित प्रत्येक होमस्टे गाउँहरुमा सर्किट सम्वन्धी जानकारीमुलक कार्यक्रम समेत सञ्चालन गर्नेछ ।

सोही चरण अन्तर्गत बन्दीपुर गापा र नेपाल पर्यटन वोर्ड पोखराको संयुक्त आयोजनामा यही आउँदो बैशाख १८ र १९ गते बन्दीपुर स्थित सञ्चालन हुन गैरहेको गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट २०८३ को अवसरमा सर्किटबारे विभिन्न सञ्चार माध्यमद्धारा प्रचारप्रसार गरिने छ । बन्दीपुरले ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ लाई मध्यनजर राखी गाउँ गाउँमा पर्यटन पहुँच वृद्धि गर्ने अभिप्रायले सफारी जीप समेत सञ्चालनमा ल्याइसकेको छ । तसर्थ बन्दीपुरले परिकल्पना गरेको होमस्टे सर्किट विश्व सामु प्रस्तुत गर्न लायक पर्यटकीय गन्तव्य वा उपज कसरी निर्माण गर्न सकिन्छ भन्ने सन्दर्भमा सम्पूर्ण नागरिक समाजको हातेमालो अपरिहार्य छ । बन्दीपुर समन्वय, सहकार्य र सहयोगका लागि हार्दिक आव्हान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध