तनहुँ । चैत २
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले सोमबार बिहान फेसबुकमा एक स्टाटस लेखे–‘परिवार सँगै खाना खादै गर्दा ड्याङ्ग बन्दुकले चरा मारे झै मेरो साथी स्व.कल्याण खनालजीलाई मारेको स्मरण गर्दै त्यस बेला परिवारलाइ कस्तो भयो होला ? त्यो परिवारले अझैसम्म पनि न्याय पाएको छैन । नेपाली कांग्रेस तनहुँबाट समानुपातिक उम्मेदवार इन्दिरा खनाल किन परेनन् समानुपातिकमा ?’



नेपाली काँग्रेसले प्राप्त गरेको २० जना समानुपातिकको सांसदमा सहिद पत्नि तनहुँकी इन्दिरा खनाललाई नसमेटेपछि महाधिवेशन प्रतिनिधि गुरुङले असन्तुष्टि जनाउँदै फेसबुकमा स्टाटस लेखेका थिए । धेरै काँग्रेस कार्यकर्ताले यसपटक खनाललाई काँग्रेसले सांसद बनाउनेमा ढुक्क रहेको बताएका थिए ।
हुन त काँग्रेसका सभापती गगन थापाका ससुरा, नेता शेखर कोईराला, बिजय गच्छेदार र बलबहादुर केसीका पत्नी, पुर्व राष्ट्रपती रामवरण यादवका छोरा तथा विमलेन्द्र निधीका भान्जीलाई विभिन्न क्लष्टरबाट समानुपातिकको सांसद छनौट गरेको नेपाली काँग्रेसले आफ्नो सिङ्गो जिवन पार्टीको लागि समर्पित गरेका सहिद कल्याण खनालका पत्नि इन्दिरालाई सांसद छनौट नगर्नु कुनै आश्चर्यको विषय नभएको काँग्रेसका एक कार्यकर्ताले बताए । नेताहरुले आफ्ना पत्नि र आफन्त खोज्दा सहिद परिवार प्राथमिकतामा नपरेको ति कार्यकर्ताको भनाई थियो ।
नेपाली काँग्रेसका तत्कालिन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती कल्याण खनाललाई तत्कालिन द्वन्द्वरत नेकपा माओवादीका कार्यकर्ताहरुले २०५९ साउन २७ गते भिमाद नपा–६ स्थित आफ्नै घरमा खाना खाँदै गरेको अवस्थामा गोली हानी हत्या गरेका थिए ।












