तनहुँ । चैत ९
मंगलबार विश्व क्षयरोग दिवस । हरेक वर्षको मार्च २४ विश्व क्षयरोग दिवस मनाइन्छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छाै, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार नेपालमा पनि विश्व क्षयरोग दिवस क्षयरोग नियन्त्रणका लागि विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरि मनाईदैछ ।



आज चिकित्सा विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्या क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ । नेपालमा हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मृत्यु हुने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्र्दै आएको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने सरकारको लक्ष्य रहेको छ ।
तिन हप्ता या बढी देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर जँचाउनु पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो सङ्क्रमणले सहजै डेरा जमाउन सक्दछ ।
५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरूमा, चुरोट रक्सी या लागु औषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेकाहरूमा यस सङ्क्रमण फेरि देखिन सकिन्छ ।औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ ।
तनहुँमा क्षयरोगी पत्ता लगाउनु निकै चुनौतीपुर्ण रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले सोमबार आयोजना गरेको सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख अमर दवाडीले क्षयरोगी पत्ता लगाउनु निकै चुनौतीपुर्ण रहेको बताए । क्षयरोगको लक्षण देखिएका विरामी पनि परिक्षण गर्न नआउने, घरमै लुकेर बस्ने, विचमै औषधी छाड्ने जस्ता चुनौती रहेको बताए ।
तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा अन्य पालिकामा भन्दा धेरै क्षयरोगी रहेको हुँदा ति पालिकालाई क्षयरोग मुक्त बनाउने विशेष कार्यक्रम सन्चालन भईरहेको दवाडीले बताए । ति पालिकाहरुमा क्षयरोगीको खोज पड्ताल तथा परिक्षण अभियान सन्चालन भईरहेको दवाडीले बताए । नियमित औषधीको सेवनले क्षयरोग निको हुने हुँदा क्षयरोगको संक्रमण भएका व्यक्तिले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दवाडीले बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालउका अनुसार तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो । उनका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ । तनहुँमा १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको नियमित उपचार हुने गरेको छ ।
क्षयरोग नियन्त्रणकोलागि सन्चारकर्मीहरुको महत्वपुर्ण भुमिका हुने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालयका फोकल पर्सन एवं सुचना अधिकारी सुदिप कडेंलले क्षयरोगको बारेमा आम जनतालाई जानकारी गराई रोग नियन्त्रणमा पत्रकारले भुमिका खेल्न सक्ने बताए ।












