तनहुँ । बैशाख १
नयाँ वर्ष २०८३ को स्वागतमा तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक पर्यटकको भीड लागेको छ । नयाँ वर्षको स्वागतमा जिल्लाका पर्यटकीय स्थल बन्दीपुर, मानहुँ, तथा धार्मिक स्थल देवघाट, छाब्दीबाराही, ढोरवाराहीमा पर्यटक तथा भक्तजनको ठुलो भिड लागेको थियो । नयाँ वर्ष मनाउन आएका हजारौं आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भएको पर्यटन व्यवसायी बैंश गुरुङले बताए । बन्दीपुर गएका पर्यटक रात भने बसेनन्, जसले होटल व्यवसायलाई खासै फाईदा नभएको होटल व्यवसायी समेत रहेका गुरुङले बताए ।



‘अघिल्लो वर्षमा भन्दा यसवर्ष अधिक भीड रह्यो’ अर्का पर्यटन व्यवसायी बसन्त पौडेलले भने, ‘घुम्ने संस्कृतिको विकास भएको हो कि भन्ने लागेको छ ।’ नयाँ वर्षको पहिलो दिन मंगलबार बिहानैदेखि बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको पौडेलले बताए । परिवार, समुह, नवजोडी बन्दीपुर आएका थिए । नयाँ वर्ष मनाउन आएका पर्यटकले बन्दीपुरको रौनक बेग्लै बनाएको उनले बताए । त्यस्तै मानहुँडाडाबाट सुर्योदय हेर्न विहान देखि नै पर्यटकको भिड लागेको थियो ।

नयाँ वर्षमा सबैभन्दा बढि भिड त अझै धार्मिक स्थलमा लागेको थियो । व्यास नपा–१४ को छाब्दीमा रहेको प्रसिद्ध छाब्दी बाराही मन्दिरमा लागेको थियो । मंगलबार छाब्दी बाराही मन्दिरमा हालसम्मकै सबैभन्दा बढि भक्तजनको भिड लागेको स्थानीय युवा अविनास पन्थले बताए । उनका अनुसार नयाँ वर्षको दिन मंगलबार करिब ३० हजार भक्तजनले बाराही देवीको दर्शन र पुजा गरेका थिए । देवीको र्दशन गर्न भक्तजनलाई घन्टौं लाइनमा लाग्नुपरेको थियो । युवा अभियन्ता पन्थले घन्टौं लाइनमा बस्न बाध्य भक्तजनलाई निशुल्क रुपमा खानेपानी वितरण गरेका थिए । भक्तजनको भिड बढेपछि व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समिति, सुरक्षाकर्मी र स्वयंसेवकलाई हम्मे हम्मे परेको थियो ।
हजारौं भक्तजन आएपछि छाब्दीका होटल व्यवसायी, फुल प्रसाद व्यवसायी, साना तथा मझौला यातयात व्यवसायी खुसी भएका थिए । छाब्दीका प्रायः सबै होटलहरु दिनभरजसो भरिभराउ भएको पन्थले बताए । साथै सयौं सवारी साधनले दिनभर भक्तजनलाई ओसारेका थिए । छाब्दीबाराहीमा जस्तै भिड अर्काे प्रसिद्ध धार्मिक स्थल ढोरबाराहीमा पनि लागेको थियो । ढोरबाराही मन्दिरमा पनि हजारौं भक्तजनले र्दशन गरेका थिए ।

त्यसैगरि नयाँ वर्ष २०८३ को पहिलो दिन म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिरमा सात हजार एक सयभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । नयाँ वर्षको पहिलो दिन माता अकलाको दर्शन गर्दा मनोकांक्षा पूरा हुने र वर्षभरि शुभ हुने जनविश्वासका साथ बिहान ३ बजेदेखि नै मन्दिरमा भक्तजनको घुइँचो लागेको थियो ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस धार्मिक पर्यटकीय गन्तव्यमा आज सात सय पाँचवटा समूहले पूजाअर्चना गरेका छन्। बढ्दो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो । मन्दिरका पुजारी ऋषिराम वाग्लेले नयाँ वर्षको विशेष दिन भएकाले बिहान ३ बजेदेखि नै दर्शनार्थीको आगमन बाक्लिएको बताए । यस पटकको दर्शनमा सहभागी भएका धानाचार्य खेमराज अधिकारीले मन्दिरको व्यवस्थित पूजा प्रणाली र बढ्दो ख्याति देख्दा खुसी लागेको बताए ।

मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष कृष्ण विश्वकर्मा र पूर्व सचिव प्रकाश भण्डारीका अनुसार अकला मन्दिर पछिल्लो समय नयाँ वर्ष मनाउने र धार्मिक शान्ति खोज्नेहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । समितिले व्यवस्थापनमा नवीन वाग्ले, दधिराज वाग्ले र ध्रुव बानियाँलाई सहायक पुजारीका रूपमा खटाएको थियो ।
यसैगरि तनहुँको अर्काे महत्वपुर्ण धार्मिक तथा ऐतिहाँसिक स्थल देवघाटमा पनि नयाँ वर्षको दिन हजारौं भक्तजन पुगेका थिए । तनहुँ, चितवन र नवलपुरको संगममा पर्ने देवघाट स्थित पवित्र कालीगन्डकी र त्रिशुलीको संगममा स्नान गर्न नयाँ वर्षको दिन मंगलबार हजारौं भक्तजन आएका थिए ।












