तनहुँ । बैशाख १७
तनहुँको बन्दीपुरमा शुक्रबारबाट ‘गाउँ पर्यटन मार्ट २०८३’ हुने भएको छ । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित वैशाख १८ र १९ गते बन्दीपुरमा उक्त कार्यक्रम आयोजना हुन लागेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । उक्त गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट २०८३ मा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्म स्टे), पर्यटन सम्बद्ध कम्पनी तथा गैरसरकारी संस्थाहरूको सहभागिता हुने प्रमुख लामिछानेले बताए ।



बन्दीपुरमा हाल सञ्चालन भइरहेको ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ लाई समेत थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । सो मेलाले नेपाल सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्रयाउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्यलाई टेवा पु¥याउने दाबी पनि गरिएको छ । मेलामा गाउँ पर्यटनसँग सम्बन्धित होमस्टे तथा पर्यटन व्यवसायीका स्टलहरू रहनेछन् ।
आयोजकका अनुसार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दीपुर पर्यटनः हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।
कार्यक्रममा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको उनको भनाइ छ ।
आयोजकले गाउँ पर्यटनलाई केवल होमस्टेमा सीमित नराखी स्थानीय संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्यसँग जोडेर समग्र विकासको माध्यम बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, नयाँ गन्तव्यहरूलाई बजारसँग जोड्दै सेवा गुणस्तर अभिवृद्धि गर्न मेला कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ ।












