तनहुँ । बैशाख २३
तनहुँको बन्दीपुरमा विश्वकै सबैभन्दा लामो क्यांतिलिभर ग्लास स्काइ वाक बन्ने भएको छ । नेपालको साहसिक तथा पर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने लक्ष्यसहित विश्वकै सबैभन्दा लामो ९७ मिटर लामो क्यांतिलिभर ग्लास स्काइ वाक परियोजनाको शिलान्यास सम्पन्न भएको छ । स्काईपिक एडभेन्चर पार्क लिमिटेडद्वारा निर्माण हुन लागेको उक्त महत्वाकांक्षी परियोजनाको कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा शिलान्यास गरे ।



करिब १ अर्ब ४० करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त अत्याधुनिक स्काइ वाक आगामी दुई वर्षभित्र व्यवसायिक सञ्चालनमा ल्याइने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । परियोजनामा बैंक ऋण केवल ४० करोड रुपैयाँ मात्र रहने तथा बाँकी लगानी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट जुटाइएको जानकारी दिइएको छ ।
विश्वस्तरीय प्रविधिमा आधारित ९७ मिटर लामो क्यांतिलिभर ग्लास स्काइ वाक थ्रु एकैपटक प्रति घण्टा एक हजार जनाले प्रयोग गर्न सक्ने क्षमतायुक्त हुनेछ । विशेष प्रकारको स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले स्काइ वाकमा हिँड्दा सीसा चर्किएको (क्र्याक भएको) अनुभूति दिलाउने रोमाञ्चक अनुभव समेत पर्यटकले प्राप्त गर्नेछन् ।
परियोजना अन्तर्गत दुई सय मिटर गहिराइबाट सञ्चालन हुने बन्जी जम्प, दुई मिटर लामो सोप स्विङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्ने सुविधा सहितको फ्लाई डाइनिङ तथा विद्यार्थी र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गरिनेछ ।
यसैगरी स्काइपिक इड्भेनचर पार्क लिमिटेडले कुल १ अर्ब ७० करोड रुपैयाँ बराबरको एकिकृत पर्यटन पूर्वाधार विकास योजनाअन्तर्गत नेपालकै अग्लो ५५ मिटर क्याप्सुल लिफ्ट, स्काइ ग्लास डेक, मेटल क्लाइम्बिङ, रक क्लाइम्बिङ, भ्यूज रूम, एज वाक तथा १४० फिट अग्लो आदियोगी शिवको मूर्तिसहित ‘आदियोगी पार्क’ समेत निर्माण गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार क्यांतिलिभर वाल्क थ्रु बाहेकका अधिकांश पूर्वाधार आगामी दशैंभित्र सञ्चालनमा आउने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । परियोजनामा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, आरकेडी होल्डिङ तथा पन्चासे नेक्सस इन्फ्रा लिमिटेड लगायतका संस्थागत लगानीकर्तासहित करिब १५०० जना लगानीकर्ताको सहभागिता रहने प्रबन्ध सञ्चालक पोष्टबहादुर खड़काले जानकारी दिए ।
‘यो परियोजनाले नेपाललाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउनेछ’ खड्काले भने । स्थानीय महिला सञ्चालक रेखा बानियाले यस परियोजनाले बन्दीपुरको पर्यटन क्षेत्रलाई थप गुल्जार बनाउने विश्वास व्यक्त गर्दै स्थानीय व्यवसाय, होटल, यातायात तथा रोजगारी क्षेत्रमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने बताइन् ।
त्यसैगरी सञ्चालक एवं बन्दीपुर गाउँपालिकाका पूर्व अध्यक्ष पूर्णसिंह थापाले यो परियोजना नेपालको पर्यटन क्षेत्रको सपनाको ताज बन्ने दाबी गर्दै यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरे । पर्यटन विज्ञहरूका अनुसार, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा आधुनिक मनोरञ्जनलाई एकीकृत गरिएको यस प्रकारको मेगा परियोजना नेपालमा पहिलोपटक निर्माण हुन लागेको हो । परियोजना सम्पन्न भएपछि बन्दीपुर क्षेत्र दक्षिण एशियाकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।












