तनहुँ । जेठ १३
प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीको आयोजना तथा प्रदेश अस्पताल तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि ‘तनाव व्यवस्थापन कार्यक्रम’ बुधबार सम्पन्न भएको छ । कार्यक्रम चिकित्सालयको योगहलमा आयोजना गरिएको थियो ।



कार्यक्रमका प्रमुख अतिथि प्रदेश अस्पताल तनहुँका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूले बिरामीको सेवासँगै आफ्नै मानसिक स्वास्थ्यप्रति पनि सचेत हुनुपर्ने बताए ।
सो कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार केसीले तनाव व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरूलाई योग तथा ध्यान अभ्याससमेत गराएका थिए ।
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा.नारायण श्रेष्ठले वर्तमान समयमा तनाव व्यवस्थापन अत्यन्त आवश्यक विषय भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरू मानसिक रूपमा स्वस्थ रहनु सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताए ।
उक्त कार्यक्रममा प्रदेश अस्पताल तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा.परिवर्तन बराल तथा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालयका प्रमुख अमर दवाडी लगायत अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले गरेका थिए भने स्वागत मन्तव्य प्रदेश अस्पताल तनहुँका अस्पताल व्यवस्थापक शिशिर पोखरेलले गरेका थिए ।
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्य, तनाव नियन्त्रण तथा योग अभ्यासको महत्वबारे जानकारी प्राप्त गरेका थिए । आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।












