पुल निर्माणमा चरम ढिलासुस्ती, ६ पटक म्याद थप हुँदा पनि बनेन कालीगण्डकीको पुल

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २१

तनहुँको ऋषिङ गाउँपालिका–४ को मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका–४ को कोखेटार जोड्ने कालीगन्डकी नदीको गडगडीघाटमा निर्माणाधिन पक्की पुलको नर्मिाण कार्यमा चरम ढिलासुस्ती भएको छ । उक्त निर्माणको काम १० वर्ष पुरा हुँदा पनि काम सम्पन्न भएको छैन ।

निर्माण कम्पनीको लापरवाहीले उक्त निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र परेको छ । उक्त पुल बनाउन छ पटक म्याद थप्दा पनि काम हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए । छैटौँ पटक थपिएको म्याद पनि यस अघि चैत मसान्तमै सकिएको छ ।

पटक–पटक निर्माण कम्पनी र पुल सेक्टर कार्यालयलाई अनुरोध गर्दा पनि निर्माण कार्य पुरा नभएकोे नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् नवलपुरका युवा नेता विद्रोही गिरीले बताए । बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले पनि थपिएको म्यादभित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न पटक पटक आग्रह गरिएपनि कुनै सुनुवाई नभएको बताए ।

२०७३ साल असार २९ गते पुल निर्माणको सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजार ४३२ रुपियाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए । ठेकेदार कम्पनीले काम नसक्दै १३ करोडभन्दा बढी रुकम भुक्तानी लगिसकेको सुवेदीको भनाइ छ । हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत भएको सुवेदीले जानकारी दिए ।

जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो । पटक पटक म्याद थपिए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ । विगतमा विभिन्न बहाना देखाएर काम गरेनन्, २०७६ सालदेखि २०८१ सम्म प्रगति शून्य जस्तै थियो, यो वर्ष केही काम भए पनि अहिले फेरि मूल्यवृद्धि र महँगीको बहाना देखाएर अपेक्षाकृत उपलब्धि हुन नसकेको सुवेदीले जानकारी दिए ।

काम थालेको १० वर्षमा कालीगण्डकीमा चार वटा पिल्लर ठड्याइएको छ । २९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा पाँच स्पान रहने डिजाइनमा भएको भए पनि अहिलेसम्म एउटा स्पानको मात्रै काम भएको छ । निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको बुलिङटार गाउँपालिका अध्यक्ष सुनारीले बताए ।

तिन वटा निर्माण कम्पनीको एक आपसमा समन्वय नहुँदा पुल निर्माणमा ढिलाई भएको बताईएको छ । निर्माण कम्पनी विच विच दुई दिनअघि बैठक बसेर आगामी पुससम्ममा काम सम्पन्न गर्ने सहमती भएको छ । लुम्बिनी निर्माण कम्पनीका अध्यक्ष विष्णु शर्माले नागार्जुन निर्माण कम्पनीका दीपक सिंहले आफूहरूको नाम बेचेर बदनाम गराएको आरोप लगाए । नागार्जुनबाट मात्र ठेक्का पास नहुने भएकाले लुम्बिनी र स्वच्छन्द कम्पनीलाई पनि समावेश गराई ठेक्का पारेको तर काम गर्न असफल भएको शर्माको भनाइ छ ।

पुर्वपश्चिम राजमार्गको कावासोती, दलदले, कोखे तथा तनहुँको रिसिङ, भिमाद हुँदै पोखरा आउजाउ गर्न यो पुल निर्माण सम्पन्न भए सहज हुन्छ । कालीगण्डकी करिडोर अन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद–पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।

नवलपुरको सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुलनिर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ऋषिङलाई पूर्णखोप सुनिश्चित घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण सम्पन्न

तनहुँ । जेठ २० ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण कार्यक्रम

विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका नौ स्थानीय तहमा सार्वजानिक बिदा

तनहुँ । जेठ २० विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले