तनहुँ । जेठ ३०
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ मनहरीमा सञ्चालन गरिएको सीपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ । वडा कार्यालयको सहजीकरणमा सञ्चालित उक्त तालिममा ३५ जना महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको छ ।



महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा हस्धूतकलावाट निर्पमाण गरिएका धुप तथा बत्ती निर्माण तथा विभिन्न प्रकारका भेज र ननभेज अचार बनाउने सीप प्रदान गरिएको छ । तालिममा नेपाली कागज प्रयोग गरी पूजाआजामा उपयोग हुने बाटेको सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ ।
त्यस्तै, भेजतर्फ करेला, आँप, कागती, खुर्सानी लगायतका अचार तथा ननभेजतर्फ कुखुराको मासु, बफ र बँदेलका परिकारबाट अचार बनाउने सीपसमेत प्रदान गरिएको छ । सहभागीहरूले व्यवहारिक रूपमा उत्पादन प्रक्रिया सिक्दै व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान हासिल गरिरहेका छन् ।
म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा मेडपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार महिलाहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । ‘तालिमले महिलाहरूलाई नवप्रवर्तनात्मक र सिर्जनशील कार्यतर्फ प्रेरित गर्नेछ । स्थानीय स्रोतसाधनको उपयोग गरेर उत्पादन तथा उद्यम विकास गर्न सक्ने वातावरण तयार हुँदै गएको छ’ अधिकृत न्यौपानेले भने ।
तालिमका प्रमुख प्रशिक्षक पवित्रा लामीछानेले महिलाहरूको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै तालिमपश्चात उनीहरूले सफल उद्यमीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार तालिममा सहभागी महिलाहरूले उत्पादन, प्याकेजिङ, गुणस्तर व्यवस्थापन तथा बजारमुखी सोचसमेत विकास गरिरहेका छन् ।
सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूलाई नयाँ अवसरको ढोका खोलेको बताइन् । ‘हामी यसअघि झोल साबुन उत्पादन गरेर व्यवसाय गरिरहेका थियौँ, अब धूप, बत्ती र विभिन्न अचार उत्पादन गरी बजारमा पु¥याउने तयारीमा छौँ’ उनले भनिन् । स्थानीय उत्पादनमार्फत म्याग्देको छुट्टै पहिचान स्थापित गर्न सकिने विश्वास समेत उनले व्यक्त गरिन् ।

वडा नम्बर ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार सहभागी अधिकांश महिलाहरू विभिन्न समूहमा आबद्ध भई उद्यम तथा होटल व्यवसायमा सक्रिय रहेकाले तालिमबाट प्राप्त सीप तत्काल व्यवहारमा उतार्न सक्ने सम्भावना उच्च रहेको छ ।
तालिमको अर्को महत्वपूर्ण पक्ष बजारीकरण रहेको छ । पोखरा स्थित साइनो किचन कर्नरसँगको सहकार्यमा सहभागी महिलाहरूलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा उत्पादन भएका धूप, बत्ती र अन्य सामग्रीको बजारीकरणका लागि समन्वय प्रक्रिया अगाडि बढाइएको आर्थिक विकास शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
३५ जना महिलाको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षकका रूपमा पवित्रा लामीछाने तथा सहायक प्रशिक्षकका रूपमा राममाया श्रेष्ठ रहेकी छिन् । स्थानीय महिलाहरूलाई घरधन्दामा मात्र सीमित नराखी आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउने उद्देश्य सहित सञ्चालन गरिएको यो तालिमले महिलाहरू पनि सफल उद्यमी बन्न सक्छन् भन्ने सशक्त सन्देश दिएको छ। सीप, उत्पादन र बजारीकरणलाई एकैसाथ जोड्ने प्रयासले म्याग्दे गाउँपालिकामा महिला उद्यमशीलताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।












