सफल शर्मा । चितवन, असार ७
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आइतबारबाट चितवनको भरतपुरमा सुरु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्ट हाउस चौरमा भएको महाधिवेशनको रास्वपाका सभापती रवि लामिछाने र सो पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले तथा अन्य अतिथीहरुले घण्टि बजाएर उद्घाटन गरेका थिए ।




महाधिवेशको बन्दसत्र भने सोमबारबाट उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापती गगन थापा, पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जसपका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महाधिवेशनमा देशभरबाट करिब ४२ सय प्रतिनिधिहरु सहभागी छन् । २०७९ असार ७ गते स्थापना भएको रास्वपा प्रथम महाधिवेशनको उद्घाटन भएको दिन चार वर्ष पुरा भएको छ । स्थापनाको चौथो वार्षिकोत्सवको अवसर पारेर रास्वपाले चितवनमा महाधिवेशन आयोजना गरेको हो ।
महाधिवेशनले रास्वपामा नयाँ नेतृतव चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि सोमबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । यसैक्रममा रास्वपाको महाधिवशेन प्रतिनिधिहरुले सामाजिक सन्जालबाट उम्मेदबारी घोषणा सुरु गरेका छन् । हालसम्म तनहुँका पाँच जनाले सामाजिक सन्जाल मार्फत केन्द्रीय सदस्यमा उम्मेदबारी घोषणा गरेका छन् ।

हालका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्लेले पनि सामाजिक सन्जाल मार्फत केन्द्रीय सदस्यमा उम्मेदबारी घोषणा गरेका छन् । त्यस्तै केन्द्रीय उर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद ई.श्रीराम न्यौपानेले पनि केन्द्रीय सदस्यको उम्मेदबारी घोषणा गरेका छन् । न्यौपानेले गण्डकी प्रदेशको भुगोलबाट केन्द्रीय सदस्यको उम्मेदबारी घोषणा गरेका हुन् ।

त्यस्तै तनहुँका संस्थापक सभापती विकास सिग्देल तथा व्यास नपाका राजु दाहाल तथा नुर महम्मद मियाँले पनि केन्द्रीय सदस्यमा उम्मेदबारी घोषणा गरेका छन् । सिग्देल र दाहालले गण्डकी प्रदेशको भुगोलबाट र मियाँले मुस्मिल क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदबारी घोषणा गरेका छन् । उम्मेदवारी दर्ता कार्यक्रम सोमबार दिउँसो हुने हुँदा अन्य थप प्रतिनिधिले पनि उम्मेदबारी दिनसक्ने सम्भावना रहेको बताईएको छ ।














