रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

Devghat Online

शेयर गरौ

चितवन । असार ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु भएको छ । उक्त महाधिवशेनको पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै सभापती लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने बताए ।

सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताए । ‘हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ । राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ’ उनले भने ‘कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।’

सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताए । ‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पु¥याउने जिम्मा मेरो हो’, लामिछानेले भने ।

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।

शाहले सरकारलाई गाडीसँग तुलना गर्दै भने, ‘सरकार भनेको गाडीजस्तै हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो । स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ता आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ ।’

प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह समेत गरे । उनले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले विभिन्न देशसँग छलफल गर्दा आपत्ति आउने भएपनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताए । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापती थापाले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताए । उनले भने, ‘करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरुले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरुको अंहकारकाबीचमा टकराव भयो, व्यक्तिहरुको बीचमा टकराव भयो । जसको कारणले दुर्घटना भयो ।’

उनले जनमत प्राप्त गरेपछि दलभित्र नेतृत्वको अहंकार, व्यक्तिवादी प्रवृत्ति र आन्तरिक टकराव बढ्दा राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गरे । सभापती थापाले राजनीतिक दलभित्र स्वस्थ आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता औंल्याउँदै आफ्नै पार्टीका नेताहरूलाई पनि प्रश्न गर्नसक्ने साहस हुनुपर्ने बताए ।

सभापति थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताए । ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’ ‘तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको इतिहासमा नयाँ राजनीतिक क्रान्तिको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताएका छन् । रास्वपाको महाधिवेशन समारोहलाई सम्बोधन गर्दै भट्टराईले रास्वपाले छोटो अवधिमै जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत ऐतिहासिक सफलता हासिल गरेको बताए ।

उनले भने,‘मेरो सबै समय उहाँलाई दिनेगरी मैले के मात्रै भन्न खोजें भने रास्वपाले चार वर्ष भित्रै, जुन उपलब्धि हासिल गर्यो । आन्दोलन र संघर्ष गरेर, भन्दा पनि जनताको मन जितेर, आधुनिक विज्ञान प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर, जसरी ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाल इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।’

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।

ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिने छ, यो प्रश्न सबैका सामु छ । किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्त्व हुन्छ । तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ । आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु ।’ ज्ञवालीले रास्वपाले छोटो समयमै असाधारण जनसमर्थन हासिल गरेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूले पनि त्यसबाट सिक्नुपर्ने बताए । उनले युवाहरूलाई आकर्षित गर्ने र राजनीतिक सहभागितामा जोड्ने रास्वपाको प्रयास प्रशंसनीय रहेको धारणा राखे ।

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विगतदेखि नै सहकार्य रहेको र आगामी दिनमा पनि रहने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र बेथिति अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे । उनले रास्वपाको महाधिवेशनलाई देशले चासोका साथ हेरिरहेको उल्लेख गर्दै महाधिवेशनबाट चयन हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्ने बताए । रास्वपा पहिलोपटक देशव्यापी संगठनात्मक संरचनासहित अघि बढ्न लागेको उल्लेख गर्दै यो महाधिवेशन पार्टीका लागि ऐतिहासिक र निर्णायक रहेको उनको भनाइ थियो ।

पुनले माओवादी केन्द्र र रास्वपाबीच धेरै विषयमा समानता रहेको दाबी गरे । पृष्ठभूमि र संघर्षका शैली फरक भए पनि परिवर्तन, समाज रूपान्तरण र सुशासनका मुद्दामा दुई दलबीच निकटता रहेको उनको भनाइ थियो । कठिन परिस्थितिमा लोकतान्त्रिक मूल्य, न्याय र सुशासनको पक्षमा दुवै दलले सहकार्य गरेको स्मरण गर्दै उनले थिति बसाउने प्रयासहरू संविधान र कानुनको दायराभित्र हुनुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राखे । उनले भने, ‘तपाईंहरूको भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मानिसहरू पनि छन् । त्यसैले तपाईंहरूको जिम्मेवारी विशिष्ट छ, जनताको विशिष्ट चाहना सम्बोधन गर्नुपर्छ ।’

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ । यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ ।’

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताए । । उनले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गरे । संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यस ऐतिहासिक समारोहमा सम्झिएकामा आभार प्रकट गर्दै राउतले भने ‘जुन सपना तपाईंहरूले देख्नुभएको छ, त्यही चाहना मैले पनि देखेको हुनाले म यहाँ कुनै प्रतिस्पर्धीका रूपमा होइन, तपाईंहरूको सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन उपस्थित भएको हुँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए ।

उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए । उनले भने,‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ । नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ । हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ ।’

उद्घाटन कार्यक्रमको सन्चालन महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाह तथा स्वागत रास्वपाका चितवन जिल्ला अध्यक्ष मिनिमाधव खनाल र भरतपुर महानगरपालिकाकी अध्यक्ष सिता ज्ञवालीले गरेका थिए । महाधिवेशनको बन्दसत्र सोमबारबाट उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनमा देशभरबाट ४ हजार २ सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने