विष्णु मगर । देवघाट, असार १३
काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पु¥याउने उद्देश्यले स्टेशनरी सामग्री सहयोग गरेकी छिन् । शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।



कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले गुणस्तरीय शिक्षामार्फत नै असल समाज निर्माण सम्भव हुने बताउँदै विद्यालयको आवश्यकता पहिचान गरी गरिएको यस्तो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, अभिभावक, निजी क्षेत्र तथा समाजसेवीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सहयोगी कार्यले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा देवघाट गाउँपालिका–४ का वडाध्यक्ष मित्रलाल गुरुङले शिक्षा क्षेत्रमा समाजका विभिन्न तह र तप्काबाट हुने सहयोगले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए । विद्यालय सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले स्थानीय सरकार, अभिभावक, समाजसेवी तथा विभिन्न संघसंस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक विना पौडेलले प्राप्त स्टेशनरी सामग्रीले विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, प्रभावकारी र उत्साहजनक बनाउने विश्वास व्यक्त गरिन् उनले सुष्मा देवकोटाको सहयोग केवल स्टेशनरी सामग्रीको दानमा सीमित नभई विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रतिको जिम्मेवारी, शिक्षाप्रतिको माया र समाजप्रतिको प्रेरणादायी योगदानका रूपमा रहेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगदाता सुष्मा देवकोटाप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।












