तनहुँ । असार १४
सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आइतबार तनहुँको शुक्लागण्डकी नपा–१० स्थित मालागिरी सामुदायिक वन क्षेत्रमा १ हजार ७ सय रुद्राक्षका बिरुवा रोपिएको छ ।



गण्डकी प्रदेशमै पहिलोपटक दुई हेक्टर क्षेत्रफलमा रुद्राक्ष रोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उक्त कार्यक्रममा शुक्लागण्डकी नगर पालिकाका प्रमुख कृष्णराज पण्डितले शुभारम्भ गरेका थिए ।
उक्त अवसरमा बोल्दै नगरप्रमुख पण्डितले वनलाई आयआर्जनमा जोडन् समुदाय नै अग्रसर बन्नुपर्नेमा जोड दिए । विशेषगरी हिन्दु र बौद्ध धर्मालम्बधीलाई तथा दुवैलाई अति आवश्यक पर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा समेत राम्रो माग भएकाले रुद्राक्ष व्यवसाय फस्टाउने उनले बिश्वास व्यक्त गरे ।
नगरपालिकाका उपप्रमुख खुम बहादुर बिकले वातावरणीय पर्यावरण जोगाउन वनको अपरिहार्य भूमिका रहेको बताए । उनले विकास निर्माणका कार्यलाई समेत पर्यावरणमैत्री बनाउन हामी सबैको उत्तिकै दायित्व रहेको बताए ।
यति ठूलो परिमाणमा रुद्राक्ष खेती गरिएको सम्भवत गण्डकी प्रदेशमै पहिलो हुन सक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बताए । खेर गइरहेको जमिनलाई सदुपयोग गरी रुद्राक्षको पकेट क्षेत्र बनाउने उद्वेश्यले यस स्थानलाई छनोट गरिएको डिभिजन प्रमुख रानाभाटले जानकारी दिए । रुद्राक्ष धार्मिक, साँस्कृतिक र पर्यावरणको दृष्टिले महत्वपूर्ण मानिने भएकाले यस खेतीलाई प्राथामिकता दिइएको उनले बताए । यसक्षेत्र वातावरण हावापानी सुहाउँदो रहेकाले रुद्राक्ष खेती फस्टाउन सक्ने विश्वास लिइएको उनले बताए ।

सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार सात सय वटा खाडल खन्ने कार्य जेठ महिनाभित्र सम्पन्न गरिएको मालागिरी सामुदायिक वन उपभोक्ता समूहका सचिव सिद्ध खाँडले बताए । उक्त वनमा आबद्ध ८३ घरधुरीका सबै उपभोक्ताको प्रयासमा खाडल खन्ने कार्य गरिएको खाँडले बताए ।
उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारीहरु तथा सामुदायिक वनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकारले सन २०२५ देखी सन् २०४५ सम्म (२०८२ देखी २१०२ सम्म) कार्बन उत्सर्जन शून्य गर्ने प्रतिबद्धता अनुरुप हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एक महिने सगरमाथा वृक्षारोपण महाअभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार तनहुँमा पनि आइतबारदेखी उक्त अभियान सुरु गरिएको छ ।
यसैगरि नेपालले हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउँदै आएको छ । वृक्षारोपणका लागि उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिको रुख बिरुवा रोपण गरी वृक्षारोपण कार्यलाई प्रभावकारी बनाई समृद्धि हासिल गर्न, वातावरणीय सन्तुलन कायम गर्न तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने उद्देश्य लिइएको छ । यो अभियानले सन् २०४५ सम्ममा नेपाललाई कार्बन उत्सर्जन शून्य, बनाउने, हिमालय जोगाउने र स्वच्छ भविष्य सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न सहयोग पु¥याउने लक्ष्य लिईएको छ ।












