तनहुँ । साउन १२
भिमाद नपा–६ स्थित जनज्योति माध्यमिक विद्यालयबाट यसवर्षको एसइई परीक्षामा सहभागी छात्रा अर्चना गौतमले नेपाली विषयको पुनः परीक्षणमा अभूतपूर्व सफलता हासिल गरेकी छन् ।



यसअघिको नतिजामा नेपाली विषयमा केही कमी देखिएपछि, पुनः परीक्षण गर्ने क्रममा उनले उक्त विषयमा पूर्ण ४ जीपीए अंक प्राप्त गर्न सफल भएकी छन् । नतिजामा आएको असाधारण सुधारसँगै, अर्चनाले समग्रमा पनि ४ जीपीए प्राप्त गरेकी छिन् ।

एसइईको नजितामा यसअघि तनहुँका आठ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । सत्यवती माविका विधान सिग्देल, डेविड दरै, सुभम थापा र सुयोग श्रेष्ठले ४ जीपीए प्राप्त गरेका थिए । त्यसैगरि व्यास नपा–२ स्थित व्यास दिव्यज्योती बोर्डिङ स्कुलका जेनिश श्रेष्ठ, शुक्लागण्डकी स्थित अरनिको बोर्डिङका सुगम पोख्रेल र ज्ञान बगैंचा बोर्डिङकी प्रमिशा पौडेलले चार जीपीए ल्याएका थिए ।
त्यसैगरि देवघाट स्थित महेश संस्कृत गुरुकुलका सुजित रेग्मीले चार जीपीए ल्याएका थिए । जनज्योती माविकी अर्चनाले ४ जीपीए ल्याएसँगै अव तनहुँ जिल्लाका ९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।












