तनहुँ । साउन १३
गुरु पुर्णिमा तथा व्यास अवतरण दिवसको अवसरमा बुधबार बिहान दमौलीमा प्रभातफेरी आयोजना गरिएको छ । गुरु पुर्णिमा तथा व्यास जयन्तीको अवसरमा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनाा प्रभातफेरीको आयोजना गरिएको हो ।
बिहान ७ बजे अनसन चौतारीबाट बाजागाजा र झाँकीसहित भव्य शोभायात्रा निकालिएको थियो । उक्त प्रभातफेरीमा सहभागीहरुले व्यास नगरपालिका परिसरमा रहेको महर्षि व्यासको पूर्णकदको सालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरेका थिए ।



उक्त सभामा गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यासका अध्येता काशिनाथ न्यौपाने लगायतले व्यास क्षेत्रको प्रचार प्रसार गरि यस स्थानमा धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्र्याउनुपर्ने बताए । यस्ता प्राज्ञिक तथा धार्मिक गतिविधिले व्यास जन्मभूमिको पहिचानलाई विश्वभर उजागर गर्न ठूलो सहयोग पुग्ने वक्ताहरुको भनाई थियो ।
व्यास क्षेत्र शिवपान्चायन विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन कोषका महासचिव विष्णुभक्त सिग्देलले गरेका थिए ।
यसै अवसरमा ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक विद्यालय स्तरीय वक्तत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे प्रथम भइन् ।
धर्मशास्त्रमा महर्षी व्यासको जन्म तनहुँको दमौली स्थित सेती र मादी नदीको किनारमा भएको मानिन्छ । यसकारण व्यास जयन्तीलाई दमौलीबासीले उल्लास पुर्वक मनाउने गर्छन् । सेती र मादीको संगममा रहेको व्यास गुफामा बसेर व्यासले अठ्ठार पुराण र चार बेदको रचना गर्नु भएको मानिन्छ । गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो ।
हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।












