देवघाट । साउन १६
धर्म, जाति वा समुदायका नाममा समाजलाई विभाजन होइन, एकता, सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको सन्देशसहित देवघाट क्षेत्र विकास समितिले शुक्रबार देवघाटस्थित गलेश्वर मन्दिर परिसरमा वैदिक शान्तिपाठ पारायण आयोजना गरेको छ ।



केही दिन अघि सुनसरीमा दुई धार्मिक समुदायबीच भएको झडपपछि उत्पन्न परिस्थिती पछि देशका विभिन्न स्थानमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुताबारे चासो बढिरहेका बेला आयोजित कार्यक्रममा गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ क्याम्पसका करिब ३ सय जना वटुकले सामूहिक रूपमा वैदिक शान्तिपाठ गर्दै देशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना गरेका थिए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सिनाले धार्मिक आस्थाका नाममा द्वेष र विभाजन फैलाउने प्रयासले समाज र राष्ट्र दुवैलाई कमजोर बनाउने भएकाले सबै नेपालीले सहिष्णुता, विश्वास र पारस्परिक सम्मानलाई जीवन व्यवहारमा उतार्नुपर्ने बताए ।
गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले धर्मको मूल मर्म मानवता, करुणा र प्रेम भएको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताए । उनले सबै धर्मप्रति सम्मान, सहिष्णुता र सहअस्तित्वको भावना कायम राख्नुपर्नेमा जोड दिए ।
‘नेपाल तपोभूमि मात्र होइन, विविधताभित्रको एकताको अनुपम उदाहरण पनि हो’ उनले भने, ‘देशमा जुनसुकै धर्म मान्ने नागरिक भए पनि सबैले एकअर्काको आस्था र अस्तित्वको सम्मान गर्नुपर्छ, मानवता सबैभन्दा ठूलो धर्म हो । समाजमा प्रेम, सद्भाव र विश्वास कायम रहँदा मात्र राष्ट्र शान्त, समुन्नत र बलियो बन्न सक्छ ।’
कार्यक्रमले धार्मिक विविधतालाई विभाजनको आधार होइन, राष्ट्रिय एकताको शक्ति मान्दै सबै नेपालीलाई सहिष्णुता, सद्भाव र भाइचाराको मार्गमा अघि बढ्न प्रेरित गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।












