झरीले छेकेन देवघाटमा बोलबम मेलामा आउने भक्तजनलाई

Devghat Online

शेयर गरौ

देवघाट । साउन १८

साउने सोमबारका अवसरमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा बिहानैदेखि परेको अविरल झरीको पर्वाह नगरी हजारौँ बोलबम भक्तजनहरूको घुइँचो लागेको छ । वर्षात्का कारण नदीको बहाव बढेको र आउन अप्ठ्यारो भएपनि बोलवम भक्तालुहरुको उत्साहमा भने कुनै कमी आएन ।

तनहुँ सहित चितवन र नवलपुरका विभिन्न भागबाट बोलवम भक्तालुहरुले बिहानैदेखि पवित्र त्रिशुली र कालीगण्डकीको संगममा सङ्गममा स्नान गरी जल उठाएका छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा स्नान गरी पवित्र जल उठाएर भक्तजनहरूले नजिकैको महादेव मन्दिर तथा शिवालयहरूमा जल अर्पण गरेका थिए ।

झरीका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समिति, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जल क्षेत्रमा उच्च सतर्कता अपनाएको थियो । बिहानैदेखि पानी परेपनि भगवान प्रतिको आस्थामा कुनै कमी नआएको एक भक्तजनले बताए ।

साउन महिना, त्यसमा पनि सोमबारको विशेष महत्व रहने भएकाले देवघाटमा भक्तजनको चाप व्यवस्थापन गर्न स्वयंसेवक तथा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । त्रिशुली र कालीगण्डकी नदीमा पानीको बहाव उच्च रहेकाले स्नान क्षेत्रमा सुरक्षित रूपमा स्नान गर्ने व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

तनहुँ, चितवन र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । सोमबारको मेलाको लागि नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको छ ।

बोलबमका श्रद्धालुहरूका लागि नदीको पानी शुद्ध र पवित्र मानिन्छ । बोलबमको मुख्य विधिको रूपमा भक्तजनहरूले देवघाटको त्रिवेणी संगमबाट शुद्ध जल आफ्नो काँवर (बाँसको खलाँती) मा भर्छन् । उक्त जललाई खाली खुट्टा हिँडेर नजिकका शिवालयहरूमा पु¥याई भगवान शिवलाई अर्पण गरिन्छ ।

संगमको जल शिवलाई चढाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र त्यसमा पनि सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । पौराणिक मान्यता अनुसार, समुन्द्र मन्थन गर्दा निस्किएको ‘हलाहल’ विषको डाह शान्त पार्न शिवले जल र गंगाजीलाई शिरमा धारण गर्नुभएको थियो । त्यसैले साउनको सोमबार देवघाटको चिसो र पवित्र जल शिवलाई चढाउन बोलबमका भक्तहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक