गरिबी निवारणमा चक्रवर्ती सामुदायिक वनको लगानीः ३८ लाभग्राहीलाई ४ लाख १६ हजार सहयोग

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन १९

सामुदायिक वन केवल रुखबिरुवा जोगाउने थलो मात्र होइन, समाजका विपन्न, असहाय र अभावसँग संघर्ष गरिरहेका नागरिकको जीवनमा आशा र आत्मनिर्भरताको उज्यालो छर्ने साझा संस्था पनि हो भन्ने उदाहरण तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको छ ।

समूहले गरिबी निवारण तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत ३८ जना लाभग्राहीलाई रु. ४ लाख १६ हजार बराबरको सहयोग वितरण गरेको छ । सामुदायिक वनबाट प्राप्त आम्दानीलाई विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारको आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको समूहले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा सब–डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवीन विश्वकर्माले सामुदायिक वनबाट प्राप्त स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके गरिबी न्यूनीकरण र स्थानीय आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले सहयोगको प्रभावकारी उपयोग गर्दै आत्मनिर्भर बन्न लाभग्राहीलाई आग्रह गरे ।

समूहका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार ११ जनालाई बाख्रापालन, २४ जनालाई बंगुरपालन तथा ३ जनालाई ढोको–नाङ्लो निर्माण व्यवसाय विस्तारका लागि बाँस रोप्न तथा खरिद गर्न सहयोग उपलब्ध गराइएको छ । यस्तै, देवघाट–५ जलदेवी टोल विकास संस्था (साउने) निवासी मिर्गौला रोगसँग संघर्षरत मिमिलाल भुजेललाई उपचारका लागि रु.११ हजार नगद सहयोग हस्तान्तरण गरिएको छ ।

अध्यक्ष गुरुङले सामुदायिक वनको सफलता वनभित्र हुर्किएका रुखको संख्याले मात्र होइन, त्यस वनको आम्दानीले कति विपन्न परिवारको घरमा आशा, आत्मविश्वास र मुस्कान फर्कायो भन्ने आधारमा मापन हुनुपर्ने बताए ।

वन समूहका सचिव प्रेम थापाले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई समान महत्व दिइएको भन्दै सामुदायिक वनको आम्दानीलाई जीवनस्तर उकास्ने, स्वरोजगार सिर्जना गर्ने र कठिन परिस्थितिमा रहेका नागरिकलाई साथ दिने अभियानमा प्रयोग गरिएको बताए । उनले मिर्गौला रोगसँग संघर्षरत मिमिलाल भुजेललाई गरिएको सहयोगले उपचार यात्रामा केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य