आदिकविका विद्यार्थीले बनाएको सफ्टवेयर अब क्याम्पसकै प्रयोगमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

​व्यास नपा–१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसले कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगसँग जोड्दै एक अनुकरणीय पहल सुरु गरेको छ । क्याम्पसले स्नातक तहको सूचना तथा सञ्चार प्रविधि शिक्षा (बिआइसिटिई) मा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका सफ्टवेयर खरिद गरी आफ्नै प्रशासनिक तथा शैक्षिक कार्यमा प्रयोगमा ल्याउने प्रणाली विकास गरेको छ ।

​विद्यार्थीहरूमा नवप्रवर्तन र उद्यमशीलताको सोच अभिवृद्धि गर्ने उद्देश्यले क्याम्पसले चालु आर्थिक वर्ष २०८३/०८४ देखि ‘नवप्रवर्धन तथा उद्यमशीलता कोष’, ‘निर्देशन समिति’ र ‘नवप्रवर्तन प्रयोगशाला’ को व्यवस्था गरेको हो ।

कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई अध्ययनकै क्रममा आत्मनिर्भर र उद्यमी बनाउन यो कदम चालिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । ​हालै नवप्रवर्तन तथा उद्यमशीलता निर्देशन समितिले विद्यार्थीहरूबाट आह्वान गरेको परियोजना प्रस्ताव मध्ये बिआइसिटिई तर्फका प्राध्यापक तथा विद्यार्थीका तीनवटा समूहले पेस गरेका सफ्टवेयर निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत भएका छन् । स्वीकृत परियोजनाअनुसार विद्यार्थीहरू हाल क्याम्पसको नवप्रवर्तन प्रयोगशालामा सफ्टवेयर उत्पादनको अन्तिम चरणमा कार्यरत रहेको क्याम्पस प्रमुख हड्खलेले बताए ।

​​क्याम्पस प्रमुख हड्खलेका अनुसार विद्यार्थीले तयार पारेका यी सफ्टवेयर प्रोडक्टहरू क्याम्पस आफैँले उचित मूल्यमा खरिद गरी प्रयोगमा ल्याउनेछ । यति मात्र नभई, प्रयोगशालामा विद्यार्थीद्वारा उत्पादित अन्य सूचना प्रविधिका प्रडक्टहरूलाई बाह्य बजारमा समेत बिक्री–वितरण गर्ने वातावरण क्याम्पसले मिलाउने भएको छ ।

​यस कदमले एकातिर क्याम्पसको प्रविधिगत आवश्यकता स्वदेशी तथा आफ्नै जनशक्तिबाट पूर्ति हुनेछ भने अर्कोतिर विद्यार्थीहरूले अध्ययनकै क्रममा आर्थिक उपार्जन गर्ने अवसर पाउनेछन् । सामुदायिक क्याम्पसहरूमा सिद्धान्तमा मात्र सीमित शिक्षणविधिलाई विस्थापित गर्दै उद्यमशीलतासँग जोड्ने आदिकवि भानुभक्त क्याम्पसको यो प्रयास अन्य शैक्षिक संस्थाका लागिसमेत प्रेरणादायी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका