तनहुँ । साउन २८
अर्थमन्त्री समेत रहेका तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्ले र क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपाने विच सम्बन्ध बिग्रिएको बारेमा तनहुँको राजनीतिक बृत्तमा केही दिन यता चर्चामा आएको थियो । रास्वपाका नेता तथा कार्यकर्ताले उक्त चर्चाको खण्डन गर्दै आएका थिए । तर वाग्ले र न्यौपानेको विच सहज सम्बन्ध नरहेको कुरा सार्वजानिक कार्यक्रममै देखिएको छ ।



जिल्ला समन्वय समिति तनहुँले विहिबार आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथी रहेका वाग्ले र विशिष्ट अतिथी रहेका न्यौपाने विच बोलचाल समेत भएन । आयोजकले मन्त्री वाग्ले र सांसद न्यौपानेलाई एकै लहरमा सोफा जोडिएर बस्ने व्यवस्था गरेपनि कार्यक्रम अवधिभर उनीहरु दुबै जना विच कुनै संवाद भएन । कार्यक्रम अवधिभर उनीहरुको आँखा पनि एक आपसमा जुधेन । उनीहरु विपरित दिशातर्फ फर्किएर बसेका थिए ।
खासगरि रास्वापाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट वाग्ले र न्यौपानेको सम्बन्ध बिग्रिएको हो । गण्डकी प्रदेशको भुगोलबाट केन्द्रीय सदस्यको उम्मेदबारी दिएका न्यौपानेलाई हराउन वाग्लेले भरतपुरको सिएमटी होटलमा बसेर योजना बनाएको न्यौपाने निकट कार्यकर्ताहरुको आरोप छ ।
न्यौपाने केन्द्रीय सदस्यमा बिजयी भएमा पार्टीमा उनको पडक विस्तार हुने र यसै संसदको कार्यकालमा मन्त्री बन्ने तथा आगामी निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ को सांसद उम्मेदबार बन्न सक्ने भयले वाग्लेले न्यौपानेलाई केन्द्रीय सदस्यमा हराउन योजना बनाएको आरोप लागेको छ ।

सोही समयमबाट नै वाग्ले र न्यौपानेको विच सम्बन्ध बिग्रिएर बोलचाल समेत बन्द भएको हो । केही दिनअघि सांसद न्यौपानेले आफ्नो फेसबुक पेजमा अर्थमन्त्री वाग्लेको वर्तमान अर्थनीतिक सूत्र पूर्ण रूपमा असफल भएको दाबी गरेका थिए । संविधानको भावना र नेपाली समाजको यथार्थ विपरीत गरिएको अर्थनीतिक प्रयोगका कारण सिर्जित जनदबाबपछि सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिन बाध्य भएको सांसद न्यौपानेले बताएका थिए ।
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउन सांसद न्यौपानेले भूमिका खेलेका थिए । २०८० वैशाखमा भएको उपनिर्वाचन अघि स्वर्णिमलाई रास्वपामा प्रवेश गराउन श्रीरामले भूमिका खेलेका थिए । उपनिर्वाचन अघि उनै श्रीरामले अर्थमन्त्री वाग्लेलाई तनहुँ–१ को क्षेत्र घुमाएका थिए ।
क्षेत्रको अवस्था बुझिसकेपछि स्वर्णिम कांग्रेस परित्याग गर्ने निर्णयमा पुगेका थिए । यसपटक स्वर्णिम सोही स्थानबाट दोहिरिँदा तनहुँ–२ बाट श्रीरामले निर्वाचन जिते । एउटै जिल्लाका दुईटा क्षेत्रबाट निर्वाचित स्वर्णिम र श्रीरामको सम्बन्ध विग्रिएको सांसद न्यौपानेको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । सम्बन्धमा दरार आएपछि स्वर्णिमको कार्यक्षमता माथि श्रीरामले प्रश्न उठाएका हुन् ।












