तनहुँ । साउन ३०
पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा आगामी माघ १ गतेदेखि फागुन ८ गतेसम्म ‘लक्षचण्डी विराट् महायज्ञ २०८३’ आयोजना हुने भएको छ । नेपालको इतिहासमै पहिलोपटक एक महिनासम्म सञ्चालन हुन लागेको यो ऐतिहासिक तथा धार्मिक महाअनुष्ठानमा स्वदेश तथा विदेशमा रहेका वैदिक सनातन धर्मावलम्बीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।



उक्त ‘लक्षचण्डी विराट् महायज्ञ २०८३’ को बारेमा छलफलको लागि शनिबार गलेश्वर आश्रम परिसरमा रहेको बेदबेदाङ्ग संस्कृत विद्यालयमा विचार विमर्श कार्यक्रमको आयोजना गरियो । राष्ट्र शान्ति, समृद्धि, आत्मकल्याण तथा विश्वबन्धुत्वको भावना जागृत गराउने उद्देश्यले आयोजना हुने उक्त लक्षचण्डी विराट् महायज्ञ २०८३ गर्न लागिएको गलेश्वर आश्रमका पिठाधिश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले जानकारी दिए । यस कार्यक्रम गत वर्ष नै यसै मितिमा आयोजना गर्ने तयारी गरिएकोमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात देशमा सिर्जित घटनाक्रम र मध्यावधि निर्वाचनको कारण स्थगित गरि यस वर्ष गर्न लागिएको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले जानकारी गराए ।

आध्यात्मिक साधनाको भूमि देवघाटधाममा वैदिक सत्य सनातन धर्मको संरक्षणका लागि यस विराट महायज्ञ गर्नुपर्ने औचित्य रहेको उनले बताए । महायज्ञ अवधिभर ११०० जना ब्राह्मणहरूद्वारा दुर्गा सप्तशतीको चण्डीपाठ एक लाख पटक पाठ गर्नेछन । यस्तै, एक सय वटा हवन कुण्ड, पण्डाल, दाउरा, खानेपानीका साथै ब्राह्मणहरूको भोजन, आवास र दक्षिणाको व्यवस्थापन चुनौतीपूर्ण रहेकाले स्थानीय सङ्घ–संस्था र स्थानीयवासीको साथ–सहयोगका लागि विचार–विमर्श आयोजना गरिएको कार्यक्रमको अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले जानकारी गराए ।
उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ र वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले सडक निर्माण शीघ्र सम्पन्न गर्ने र सामुदायिक वनसँग सहकार्य गरी दाउराको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष थापाले जिल्लास्तरीय सङ्घ–संस्था र सुरक्षा निकायसँग सहकार्य गर्न पालिका तयार रहेको बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.गुरुप्रसाद सुवेदीले कलियुगमा भगवती महामाया चण्डी र भगवान् श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको अभ्युदय हुन्छ भन्ने शास्त्रीय मान्यतालाई आत्मसात गर्दै महायज्ञको आयोजना गर्न लागिएको बताए । राष्ट्रशान्ति, आत्मकल्याण, सर्वाङ्गीण विकास र विश्वबन्धुत्वको भावना जागृत गराउने उद्देश्यका साथ यो अनुष्ठान सञ्चालन हुन लागेको हुँदा सबैले उक्त महायज्ञ सफल बनाउनु सहयोग गर्नुपर्ने सुवेदीले बताए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनाले तन, मन, वचन र कर्मले उक्त महायज्ञ सफलतापुर्वक सम्पन्न गर्न क्षेत्र विकास समिति पुरै परिवार लागिपर्ने बताए । उनले उक्त महायज्ञले देवघाटको धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने बताए ।
देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं गलेश्वर आश्रमका सल्लाहाकार शिवराज पौडेलले भौतिक पूर्वाधार, सडक व्यवस्थापन, झोलुङ्गे पुल मर्मत र सार्वजनिक शौचालय निर्माणमा स्थानीय पालिकाको ध्यानाकर्षण गराउँदै महायज्ञ सफल बनाउन सबै देवघाटबासी लाग्नुपर्ने बताए ।

देवघाट महिला सञ्जालकी अध्यक्ष राधादेवी खनालले जनशक्ति व्यवस्थापनमा जोड दिँदै सञ्जालको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाईन् । त्रिभुवन विश्व विद्यालय सामाजिक शास्त्र विभागका पूर्व प्रमुख सह–प्राध्यापक डा.लक्ष्मण सुवेदीले देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोडेर आर्थिक सहयोग जुटाउनुपर्ने सुझाव दिए । गार्गी कन्या गुरुकुलका अध्यक्ष शान्ताप्रसाद पोखरेल तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी एवं परमानन्द संस्कृत गुरुकुलका प्राचार्य सच्चिदानन्द सरस्वती महाराजले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै सबैको हातेमालो आवश्यक रहेको बताए ।
उक्त महायज्ञमा विशिष्ट अनुष्ठान तथा पूजापाठ गरिनेछ । महायज्ञका क्रममा विविध धार्मिक तथा आध्यात्मिक साधना सम्पन्न गरिनेछ । जसमा एक लाख आवृत्ति चण्डीपाठ एवं हवन, एक लाख आवृत्ति गणपति अथर्वशीर्ष पाठ, श्रीगणेशको एक हजार नामद्वारा दुर्वार्चन (दूबो अर्पण), मोदकार्पण (लड्डु), तथा एक हजार फूल र फल अर्पण गर्ने व्यवस्था रहनेछ ।
एक महिनासम्म चल्ने यस महायज्ञले राष्ट्रमा सुसुप्त अवस्थामा रहेको आध्यात्मिक, सांस्कृतिक र सामाजिक चेतनालाई जागृत गराउनुका साथै आर्थिक उन्नति र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सिद्धेश्वर महादेवको सान्निध्यमा हुने यस महाअभियानमा तन, मन, धन र वचनले सहभागी भई यजमान बन्न र सहयोग गर्न आयोजकले सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध गरेको छ ।












