तनहुँ । भदौ २
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर श्रीराम न्यौपानेले नेपालमा देखिने ग्यास अभावको समस्या तत्कालीन आपूर्ति संकट मात्र नभएर मुलुकको फराकिलो ऊर्जा नीति, कानुन र फितलो कार्यान्वयनसँग जोडिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अपार जलविद्युत् सम्भावना भएर पनि नेपाली भान्छा आयातित ग्यास, दाउरा र गुइँठामा निर्भर रहनु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।



तनहुँ क्षेत्र नम्बर २ का सांसद न्यौपानेका अनुसार देशका करिब ९५ प्रतिशत भान्छालाई आयातित इन्धनबाट मुक्त गरी विद्युतीय ऊर्जातर्फ लैजान स्पष्ट ऊर्जा दृष्टि र कार्यान्वयनको खाँचो छ । ऊर्जा दक्षताको तुलना गर्दै उनले १ केजी दाउराले ४ युनिट, गुइँठाले ३ युनिट र ग्यासले १२ युनिट बिजुली बराबरको ऊर्जा दिने तथ्याङ्क पेस गरे । सबै भान्छालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सके मुलुकले ठूलो लाभ लिने उनको दाबी छ ।

यसबाट वार्षिक १२ करोड घनफिट अर्थात करिब १२ अर्ब रुपैयाँ बराबर काठको बचत हुने तथा वार्षिक करिब ६० अर्ब रुपैयाँ बराबरको ग्यास आयात रोकिने सांसद न्यौपानेको दाबी छ । यस्तै विद्युतीय उर्जाको प्रयोगपछि साढे तीन लाख टन गुइँठा नबाल्दा करिब २ अर्ब रुपैयाँ बराबरको जैविक मल जोगिनेछ । बेलुकाको समयमा विद्युतीय भान्छा प्रयोग गर्दा व्यावहारिक रूपमा करिब ६ हजार मेगावाट विद्युत् खपत बढाउन सकिने उनको भनाई छ ।
वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनी व्यवस्था नै ऊर्जा विकासको तगारो बनेको आरोप लगाउँदै सांसद न्यौपानेले वन संरक्षणका नाममा रूख कटानको स्वीकृति प्रक्रियामा ढिलाइ गर्नुभन्दा भान्छालाई विद्युत्मा रूपान्तरण गर्नु दीर्घकालीन हितमा हुने बताए ।
नेपालसँग पर्याप्त स्रोत, प्रविधि र जनशक्ति हुँदाहुँदै पनि नेतृत्वमा इच्छाशक्तिको अभाव रहेको उनको भनाइ छ । सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन र प्रतिव्यक्ति वार्षिक १,५०० युनिट खपत पु¥याउने लक्ष्य राखे पनि चार महिनासम्म त्यसको स्पष्ट मार्गचित्र तयार पार्न नसकेकोमा उनले सरकारको आलोचना गरे ।
वैदेशिक रोजगारीबाट आएको पैसा विदेशी इन्धन किन्नमा नभई स्वदेशी बिजुली उत्पादन र खपतमा लगाउनुपर्नेमा जोड दिँदै सांसद न्यौपानेले प्रक्रियागत अवरोध हटाउन ‘सनसेट ऐन’ ल्याउन र ‘ऊर्जा विकास दशक’ घोषणा गरी ऊर्जा विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकारसँग आग्रह गरे ।












