तनहुँ । भदौ ११
भोटेकोशी तथा त्रिशुली नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको सिमा भएर बग्ने त्रिशुली नदी किनारमा २३ वटा शव भेटिएका छन् । बुधबार ९ वटा र विहिबार १४ वटा शव भेटिएको तनहुँ प्रहरीले जनाएको छ । बुधबार ९ वटा र विहिबार साँझसम्म त्रिशुली नदी तटीय क्षेत्रमा थप १४ शव प्राप्त भएको ति शवहरु अस्पतालतर्फ लगिएको जिल्ला प्रशासन कार्यालय तनहुँले पुष्टि गरेको छ ।




बाढीले बगाएर ल्याएका सबै शवहरुलाई कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखरा पठाईएको छ । तनहुँको आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका फेला परेका ती शव राख्न भरतपुर अस्पतालमा ठाउँ नभएपछि पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

विहिबार पनि उद्धार तथा शवको खोजी कार्यकोलागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर कार्की, प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरे तथा प्रहरी निरिक्षकहरु प्रदिप सुबेदी, आषिस पोखरेल र अमृत लामिछानेको कमाण्डमा आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रमा खटिएको छ ।

त्रिशुली नदीको क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको डिएसपी घिमिरेले बताए । कतै शबहरु देखापरेमा वा प्रहरी सेवा आबस्यक परेमा डिएसपी द्वारिका प्रसाद घिमिरेलाई ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालयमा ९८५६०९०१७८ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याईएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।












