देवघाट । भदौ १६
देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ एक दिन खाजा नखाई बचाएको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार १३५ रुपैयाँ (पन्ध्र हजार एक सय पैतिस रुपैयाँ) जम्मा गरेका छन् ।



विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थी मुस्कान मगरले विपद्को पीडाले आफूहरूलाई पनि भावुक बनाएको बताए । उनले एक दिन खाजा नखाँदा केही घण्टा मात्र भोक लाग्छ, तर बाढीपीडितले त आफ्नो घर, परिवार र जीवनभरको सम्पत्ति गुमाएको भन्दै हाम्रो सानो सहयोगले उहाँहरूको पीडामा थोरै भए पनि साथ पुग्छ भन्ने सोचेर हामी सबैले एक दिनको खाजा खर्च सहयोगका लागि जम्मा गरेको बताए ।












