तनहुँ । असोज २०
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन् । ढकालले ३५ वर्षमुनिको समुहमा उम्मेदवारी दिएकी हुन् ।



ढकालले कांग्रेसमा परिवर्तन, रूपान्तरण र पुनर्जागरणको आवश्यकता रहेको बताउँदै त्यस अभियानलाई अघि बढाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन् । उनले विगतका नीतिगत कमजोरी सच्याउँदै लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको विकर्षणलाई आकर्षणमा बदल्नुपर्ने आवश्यकता औँल्याइन् ।

युवाको नाममा अराजकता बढिरहेको अवस्थामा सचेत, क्षमतावान र राजनीतिक संस्कारसहितका युवाको हस्तक्षेप आवश्यक रहेको बताउँदै ढकालले पुस्ताबीच फाटो नभई सहकार्य र सहअस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले सांगठनिक परिवर्तन र पुनर्जागरणसँगै कांग्रेसका आधारभूत मान्यतामा अविचलित सिद्धान्तनिष्ठ पार्टी निर्माण गर्ने अभियानमा आफू सहभागी हुन चाहेको बताइन् । ढकालले अग्रज तथा समकालीन नेताकार्यकर्ताबाट साथ, सहयोग, अभिमत र शुभेच्छाको अपेक्षा गरेकी छन् ।












