ट्राफिक प्रहरीको नयाँ अभियानः नमस्ते गर्दै, कागजपत्र माग्दै

Devghat Online

शेयर गरौ

१७ भदौ, दमौली
मंगलबार दिउँसो पृथ्विराजमार्गमा यात्रा गर्ने अधिकांश सवारी चालकहरु घाँसिकुवामा आईपुग्दा ट्राफिक प्रहरीको नमस्ते पाउँदा केही समय अचम्मित बने । नमस्तेसँगै ट्राफिक प्रहरीले सवारी र चालकको कागजपत्र मागेका थिए । यस अघि ट्राफिक प्रहरीको रुखो स्वभावको अनुभव गर्दै आएका सवारी चालकहरु नमस्ते पाउँदा व्यङ्ग्य गरेको पनि भन्नेठानेर अचम्मित बने, केहीले नमस्ते फर्काए भने केहीले हासेरै बसे ।

ट्राफिक प्रहरीले मंगलबारदेखी चालकलाई नमस्ते गर्ने अभियान सुरु गरेको छ । ट्राफिक प्रहरीको आचरण र व्यवस्थापन सम्बन्धी नयाँ निर्देशिका अनुसार अवदेखी ट्राफिक प्रहरीले सवारी चालकसँग आदर र सम्मान गर्नु पर्छ । गन्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराको निर्देशन अनुसार मंगलबारदेखी जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले राजमार्गमा सवारी चेकजाँचको क्रममा नयाँ नीति अवलम्बन गरेको हो ।

साना÷ठुला जुनसुकै सवारी चालकलाई सबैभन्दा पहिला ट्राफिक प्रहरीले हाँसेर नमस्तेको अभिवादन गर्नु पर्नेछ । त्यसपछि सन्चो विसन्चो सोधी, यात्राको गन्तब्यको बारेमा सोधपुछ गरि आवश्यक कागजपत्र माग्नु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमुख रेशम रानाभाटले बताए । कागजपत्र सही नभएको सवारी र चालकसँग नियमानुसारको जरिवाना पनि हासेर नै अशुल गर्नु पर्ने छ । र अन्त्यमा चालक र यात्रुहरुको यात्राको सफलताको शुभकामना पनि दिईने रानाभाटले बताए ।

मंगलबार घाँसिकुवाको सडकमा भेटिएका सबै चालकले ट्राफिक प्रहरीबाट यस्तै व्यवहार पाएका थिए । ट्राफिक प्रहरीलाई हेर्ने दृष्टिकोण अव बदलिनु आवश्यक रहेको भन्दै रानाभाटले यस्तो आदरको व्यवहार नभएको पाईए कार्यालयमा गुनासो गर्न समेत अनुरोध गरे । ट्राफिक प्रहरी जनताको जिउ धनको सुरक्षाकोलागि सडकमा खटिने एक राष्ट्रसेवक भएको हुँदा अव जतनासँग गरिने व्यवहार सुधार हुने रानाभाटले बताए ।

विगतमा ट्रफिक प्रहरीबाट नमिठो व्यवहारको अनुभव गरेका सवारी चालक विकास ठकुरीले मंगलबारको ट्राफिकको व्यवहारले निकै खुसी लागेको बताए । यस्तो आदर र सम्मानको व्यवहार सँधै हुने हो भने यात्रा पनि सुखद र सुरक्षित हुने विकासको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू