२३ भदौ, देवघाट
देवघाटमा सन्चालित बृद्धाश्रमले बैंक खाता मार्फत दान रकम जम्मा गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । अहिले कोभिड–१९ को जोखिमको कारण बृद्धाश्रममा नै आएर रकम दान गर्न असहज अवस्था भएको हुँदा दाताहरुले बैंक खाता वा आईएमई मार्फत दान रकम उपलब्ध गराउन अनुरोध गरेको हो ।
देवघाट क्षेत्र विकास समितिद्वारा सन्चालित देवघाट समाज कल्याण केन्द्र (बृद्धाश्रम) मा रहने बृद्धबृद्धालाई खाना तथा भोजनको लागि रकम दान गर्न इन्छुक महानुभावले देवघाटमा रहेको नेपाल बैंक र सिद्धार्थ बैंकको खातामा वा आईएमई मार्फत रकम उपलब्ध गराउन तथा रकमको बारेमा बृद्धाश्रमको फेसबुक एकाउन्ट मार्फत जानकारी दिन सकिने समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।




अहिले हिन्दुहरुको पितृ पक्ष अर्थात सोह्र श्राद्ध चलिरहेको र श्राद्ध गरिसकेपछि आफ्ना पितृको सम्झनामा दान तथा बृद्धबृद्धालाई भोजन गराउने संस्कार रही आए पनि अहिले कोभिड–१९ को महामारीको कारण सबै सर्वसाधरणलाई बृद्धाश्रममा पुगी रकम उपलब्ध गराउन तथा बृद्धबृद्धालाई भोजन गराउने अनुकुल वातावरण नभएको हुँदा बैंक खाता मार्फत दान रकम दिन सकिने अध्यक्ष पौडेलले बताए ।
बृद्धबृद्धाहरुमा कोभिडको जोखिम अत्यन्त धेरै भएको हुँदा उहाँहरुलाई यो जोखिमबाट जोगाउनु सबैको कतव्र्य र जिम्मेबारी पनि भएको कारण दान दिने तथा भोजन गराउने क्रममा बृद्धाश्रममा धेरै भिड हुन सक्ने हुँदा बैंक खाता मार्फत नै दान रकम दिन सकिने व्यवस्था मिलाईएको अध्यक्ष पौडेलले बताए । सो बृद्धाश्रममा अहिले ३५ जना बृद्धबृद्धाहरु आश्रित हुनुभएको बृद्धाश्रमको व्यवस्थापक देवु अधिकारीले जानकारी दिईन् ।












