देवघाटमा बहुमूल्य शालिग्राम संरक्षण सुरु

Devghat Online

शेयर गरौ

३० भदौ, देवघाट
तनहूँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्रामको संकलन र संरक्षण सुरु गरिएको छ । भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण सुरु गरेको हो ।

क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल सुरु गरेको उनले जानकारी दिए ।

वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्,’ उनले भने, ‘कतिपयले शालिग्रामको व्यापार व्यवसाय गरेर बेच्न पनि लागे, हामीले यसको व्यापार व्यवसाय गर्नुहुन्न भन्नका लागि संरक्षणको अभियान थालनी गरेका हौं ।’

शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवर्द्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम सुरु गरिने र अहिले विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएको छ । पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा रु ५० करोड बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिक आउने तयारी गरेका छन् ।

देवघाटमा अवस्थित मणिमुकुन्देश्वरी मन्दिर क्षेत्रमा रहेको पार्क वरिपरि नै सिसमहलको पनि डीपीआर अध्ययन गरिने उनले जानकारी दिए । ‘सङ्ग्रहालय बनाउने कि मन्दिरको रुपमा लैजाने भन्ने विषयमा छलफलकै क्रममा छौँ, पूजा गर्न मिल्ने र दर्शन गर्न मिल्ने हिसाबले लैजानुपर्छ भन्ने पनि जोड छ,’ उनले भने ।

मुक्तिनाथदेखि बगेर आउने कालीगण्डकी देवघाटमा आएर त्रिशूली नदीसँग मिसिन्छ । यहाँ शालिग्राम प्रशस्त मात्रामा पाइने गरेको बताइन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेको धार्मिक अगुवाले बताएका छन् । कमलाकान्त सुवेदीले शालिग्रामको नित्य पूजा गर्नाले करोडौँ यज्ञको फल मिल्ने उल्लेख गरेका छन् । ‘भिन्नभिन्न चक्र र आकृतिकअनुसार भगवान्का भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ,’ क्षेत्र विकास समितिले प्रकाशित गरेको देवघाट दर्पणमा उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी