२८ मंसिर, देवघाट
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई समृद्ध बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताएका छन् । आईतबार गाउँपालिकामा सन्चारकर्मीहरुसँगको छलफलमा अध्यक्ष थापाले देवघाट गाउँपालिकाले निकै राम्रा राम्रा र उदाहरणीय कार्यहरु गरे पनि सन्चार क्षेत्रमा त्यसको उचित प्रचार प्रसार नभएको बताए ।
कोभिड व्यवस्थापनमा तनहूँ जिल्लामै उत्कृष्ट, शुद्ध खानेपानी वितरणमा उत्कृष्ट, नेपालकै पहिलो पुर्ण सरसफाई युक्त घोषणाको क्रममा उत्कृष्ट तथा पशुपालन र कृषिमा उत्कृष्ट कार्य गरेको अध्यक्ष थापाले बताए । गन्डकी प्रदेशले हालै देवघाट गाउँपालिकालाई कोभिड व्यवस्थापनमा तनहूँ जिल्लामै उत्कृष्ट घोषित गरेको थियो ।



व्यवसायीक कृषि र पशुपालनमा कृषकलाई आकर्षित गर्न लगातार दुई वर्ष कृषि तथा पशु प्रर्दशनी एवं महोत्सवको आयोजना तथा देवघाट बजारमा कृषि हाटबजारको स्थापना गरेको अध्यक्ष थापाले बताए । त्यस्तै गाउँपालिका भित्रका सबै खानेपानीको मुलको शुद्धता परिक्षण गरिएको पनि सो अवसरमा जानकारी गराईएको थियो । युनिसेफको सहयोगमा सबै वडाहरुलाई पुर्ण सरसफाई युक्त वडा घोषणा गरिसकिएको र अव गाउँपालिकालाई नै नेपालकै पहिलो पुर्ण सरसफाई युक्त स्थानीय तह घोषणा गर्ने क्रममा रहेको अध्यक्ष थापाले बताए ।
तर यती धेरै राम्रा कामहरु भएपनि प्रचार प्रसार भने ओझेलमा परेको अध्यक्ष थापाको भनाई छ । चितवनका सन्चारकर्मीहरुले तनहूँ जिल्ला भन्ने र तनहूँकाले चितवनको नजिकै पर्छ भन्ने बुझाईले आफुहरुको काम सन्चारमाध्यममा कम प्रकाशन हुने गरेको अध्यक्ष थापाले बताए । उनले गाउँपालिकाले गरेको राम्रा कामहरुको उचित प्रचार गर्न सन्चारकर्मीहरुलाई अनुरोध गरे ।
सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले धार्मिक पर्यटनको क्षेत्रमा देवघाटलाई नेपालकै नमुना गाउँपालिका बनाईने बताए । देवघाटलाई समृद्ध बनाउन सबै पक्षसँग सहकार्य गर्न आफुहरु तयार रहेको उनीहरुको भनाई थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहूँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले तल्लो तहको सरकार भएको कारण यहाँका सन्चार माध्यमलाई गाउँपालिकाले सहयोग गर्नु पर्ने बताए । सन्चार माध्यममा सरकारले सहयोग गरेमा नै सन्चारमाध्यमबाट पनि सहयोगको अपेक्षा गर्न सकिने भट्टराईले बताए ।
सो छलफलमा गाउँपालिकाका सुचना अधिकारी गोविन्दप्रसाद देवकोटा, सुचना प्रविधि अधिकृत विपिन मल्ल, गाउँपालिकाका कर्मचारीहरु कृष्णराज पन्त, होम भारती, गाउँपालिकाका प्रेस सल्लाहाकार आशिक राना, देवघाट सन्देशकी करिष्मा गुरुङ लगायतले धारणा राखेका थिए ।












