३ असार, देवघाट
चुरे संरक्षण दिवसको अवसरमा देवघाट गाउँपालिकामा बृक्षारोपण गरिएको छ । राष्ट्रपती चुरे संरक्षित क्षेत्र अन्तर्गत पर्ने देवघाट गाउँपालिकामा विहिबार चुरेको संरक्षण कसरी गर्न सकिन्छ भन्ने अभियान तथा चुरेको माटो चुरेलाई सफा पानी सबैलाई भन्ने नाराका साथ बृक्षारोपण गरि यो दिवस मनाईएको हो ।

इलाका वन कार्यालय देवघाटको आयोजनामा मनाईएको कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा र सरकार कर्मचारीहरुले विभिन्न १२ प्रजातीका दुई सय भन्दा बढि विरुवा रोपण गरेका थिए । सो अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले चुरेको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।




चुरे संरक्षणको लागि यस क्षेत्रमा बृक्षारोपण तथा वन संरक्षणको कार्य निकै महत्वपुर्ण भएकोले बृक्षारोपण गरिएको इलाका वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नवराज घिमिरेले बताए । सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, विभिन्न सामुदायीक वनका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

महाभारत पर्वत सृङखलाको दक्षिणी सिमानाबाट तराईको उत्तरी सिमाना बिचको होंचो डाँडो र पर्वत सृङखलालाई चुरे क्षेत्र भनिन्छ । पुर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महभारत सृङखलाबाट बग्ने नदीहरु चुरे भई तराई तर्फ बग्ने भएकोले यो क्षेत्रलाई संवेदनशिल मानिन्छ । चुरेको संरक्षणकोलागि आर्थिक वर्ष २०६७÷०६८बाट राष्ट्रपती चुरे संरक्षण कार्यक्रम सन्चालन गरिएको छ ।
तश्विरहरुः करिष्मा गुरुङ












